२४ जेठ २०८३, आइतबार
कीर्तिपुर मैदान

त्रिवि क्रिकेट स्टेडियमको इतिवृत्तान्त: किन आउँछ हटाउने कुरा, कसरी रोजिएको थियो कीर्तिपुरकै मैदान ?

बैशाख १४, २०८३
काठमाडौं

टीयू क्रिकेट मैदान भन्नेबित्तिकै अधिकांशको दिमागमा आउने दृश्य हुन्– रुखमा चढेर नेपाली टीमको हौसला बढाउने क्रेजी फ्यान, झरीमा छाता ओढेर म्याच कुर्ने क्रिकेटप्रेमीदेखि मुटु नै हातमा राखेर नतिजा कुरेका दर्जनौं क्षणहरू ।

क्रिकेट प्रेमीको एउटा सिंगो पुस्ताले कीर्तिपुर मैदानमा नेपाली टीमको थुप्रै आरोह–अवरोह देख्यो । डिभिजन फाइभदेखि बामे सर्दै एकदिवसीय मान्यता पाउँदासम्मको अटुट साक्षी हो, कीर्तिपुर मैदान ।

कीर्तिपुरमा खेल हेर्न रूखको सहारा लिनुनपरेको धेरै भएको छैन । सरकारले प्यारापिट र फ्ड लाइट जडानको काम सकेको पनि केही महिना अघि मात्र हो ।

तर, अहिले यो क्रिकेट मैदानको भविष्य अन्योलमा परेको भनेर क्रिकेटप्रेमी चिन्तित छन् ।

त्रिभुवन विश्वविद्यालयले ३५ दिनभित्र मैदान खाली गर्न भन्दै सूचना निकालेको छ ।

टीयूको सूचना निस्किएका बेला कीर्तिपुर अन्तर्राष्ट्रिय मैदानमा आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाका खेलहरू भइरहेका छन् । नेपाली क्रिकेटको भविष्यसँग जोडिएको यो प्रतियोगितामा नेपालसँगै संयुक्त अरब इमिरेट्स (यूएई) र ओमान सहभागी छन् ।

नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय सहभागिताको इतिहास जति लामो छ, यो क्रिकेट स्टेडियमको इतिहास पनि करिब–करिब त्यत्तिकै लामो छ ।

त्यसैले नेपाली क्रिकेटको विकासमा यो स्टेडियमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । नेपालको पहिलो र एक मात्र सुविधासम्पन्न क्रिकेट स्टेडियम पनि यही हो ।

तर, अन्तर्राष्ट्रिय प्रतियोगिता चलिरहेकै बेला मैदान खाली गर्ने सूचना आएको छ, त्यो पनि विदेशी पाहुनाहरूकै आँखा अगाडि ।

खासमा, यो स्टेडियम निर्माण गरिएको जग्गा त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा छ । नेपाल क्रिकेट संघ (क्यान)ले लिजमा लिएर यहाँ क्रिकेट स्टेडियम निर्माण गरेको हो ।

सन् १९९६ मा नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)बाट एसोसिएट सदस्याता पाएको थियो । सोही वर्ष नेपालले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेलेको थियो ।

सन् १९९६ को सेप्टेम्बर ६ मै नेपाली टोलीले मलेसियामा बंगलादेशविरुद्ध एसीसी ट्रफी खेल्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यू’ गरेको हो ।

सोही वर्ष नेपालले अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने सम्झौता गरेको थियो ।

खासमा, एसोसिएट सदस्यको रूपमा मान्यता पाएको दुई वर्षपछि सन् १९९८ मा नेपालले एसीसी ट्रफीका रुपमा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्नुपर्ने थियो ।

तर, त्यतिबेला नेपालमा अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता खेलाउने कुनै क्रिकेट रंगशाला थिएन । अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाको जिम्मा पाए पनि नेपालका लागि यो ठूलो चुनौति थियो ।

ठीक त्यसै बेला भारतीय टेलिभिजन ‘जीटीभी’ क्यानको सम्पर्कमा आयो । क्यानसँगको छलफलपछि ‘जीटीभी’ले नेपालमा क्रिकेट रंगशाला बनाइदिने पक्का भयो । यसका लागि जग्गा आवश्यक थियो ।

त्यसपछि, रंगशाला निर्माणका लागि जग्गाको खोजी शुरू भयो । ‘जीटीभी’का प्राविधिकहरूले क्रिकेट स्टेडियम निर्माणका लागि त्रिविको जग्गा (हाल स्टेडियम रहेको) उपयुक्त हुने सुझाव दिए ।

सोही अनुरूप, क्यान र त्रिविबीच पाँच वर्षका लागि सम्झौता भयो । त्यसअघि त्यो स्थानमा फूटबल खेलिन्थ्यो । त्यसपछि, ‘जीटीभी’को सहयोगमा क्रिकेट रंगशालाको निर्माण कार्यले गति लियो ।

अन्तत: ‘जीटीभी’को लगानीमा क्रिकेट रंगशाला निर्माण भयो र नेपालले पहिलो अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताका रूपमा सन् १९९८ मा एसीसी ट्रफी सफलतापूर्वक आयोजना गर्‍यो ।

नेपालले आयोजना गरेको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल, बंगलादेश, मलेसिया, सिंगापुर, माल्दिभ्स, पपुवा न्यू गिनी, हङकङ, यूएई, थाइल्यान्ड र जापान सहभागी थिए ।

त्रिवि क्रिकेट मैदानमा जापान र हङकङबीच पहिलो अन्तर्राष्ट्रिय खेल खेलिएको थियो । सन् १९९८ को अक्टोबर ५ तारिखमा खेलिएको उक्त खेलमा हङकङ नौ विकेटले विजयी भएको थियो ।

खासमा, त्रिवि मैदानमा अक्टोबर ३ मा बंगलादेश र पीएनजीबीच पहिलो तथा अक्टोबर ५ मा नेपाल र थाइल्यान्डबीच दोस्रो खेल खेलाइने कार्यक्रम थियो । तर, वर्षाका कारण दुबै खेल रद्द हुन पुग्यो ।

त्यसपछि, ‘जीटीभी’कै सक्रियतामा सन् १९९९ मा त्रिवि मैदानमा ‘टेम्पो वर्ल्ड लिजेन्ड कप’ क्रिकेट आयोजना गरिएको थियो । त्यो खेलमा विश्वका चर्चित क्रिकेटरले खेलेका थिए ।

‘लिजेन्ड कप’ भारत, पाकिस्तान र विश्व–११ टोलीका महान खेलाडीहरू सहभागी थिए । भारतका कपिल देव, दिलिप वेंगसरकर, मदन लाल, सन्दीप पाटिल, रोजर बिन्नी, किरण मारेलगायत थिए ।

पाकिस्तानी टोलीमा मजिद खान, अब्दुल कादिर, हारुन रसिदलगायतका खेलाडी थिए । विश्व–११ टोलीमा डेनी मोरिसन, रवी रत्नायके, एन्ड्र्यू हडसन लगायतका चर्चित खेलाडी थिए ।

भारतमा क्रिकेटका भगवान् भनेर चिनिने महान खेलाडी सचिन तेन्दुलकरले पनि त्रिवि क्रिकेट मैदानमा पाइला टेकिसकेका छन् । त्यसयता यो क्रिकेट मैदानमा सयौँ अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना भइसकेको छ ।

पछिल्लो समय नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को उपलब्धि हासिल गर्दै गएको छ । २०८२ असोजमा सरकारले कीर्तिपुरमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणका लागि गुरुयोजनासमेत स्वीकृत गरेको छ ।

गुरुयोजनाबमोजिम रंगशाला निर्माणका लागि करिब १० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यो रंगशालामा प्यारापिट निर्माणदेखि रात्रिकालीन समयमा खेल खेलाउन फ्लडलाइटसमेत जडान भइसकेको छ ।

यसरी, नेपाली क्रिकेटको हरेक सफलतामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको, सुख–दु:खको साक्षी बन्दै आएको र विश्वका थुप्रै महान क्रिकेटरले पाइला टेकिसकेको यो क्रिकेट मैदानको भविष्य यतिबेला अन्योलमा परेको छ ।

क्यानका प्रवक्ता छुम्बी लामा सरकारले यस विषयमा अविलम्ब कुनै निकास दिनुपर्ने बताउँछन् ।

अहिले क्यान र त्रिविबीच भएको लिज सम्झौताको अवधि समाप्त भएकाले यो विवाद सतहमा आएको हो । त्रिविले आफ्नो हाताभित्र रहेको क्रिकेट रंगशालासहितका संरचना ३५ दिनभित्र खाली गर्न क्यान लगायत १८ वटा संस्थालाई पत्राचार गरेको छ ।

त्रिवि जग्गा खोजबिन समितिको प्रतिवेदन–२०८१ लाई कार्यान्वयन गर्ने सिलसिलामा विश्वविद्यालयले गत वैशाख ४ गते सार्वजनिक सूचना जारी गरेको थियो । सोही सूचनाका आधारमा अहिले सम्बन्धित निकायहरूलाई छुट्टा-छुट्टै पत्र काटिएको हो ।

त्रिवि रजिस्ट्रार कार्यालयका अनुसार, क्रिकेट प्रतियोगिताका बेला विश्वविद्यालयको शैक्षिक वातावरण र अनुसन्धानका कार्यहरू प्रभावित हुने गरेका छन् ।

ठूला प्रतियोगिता आयोजना हुँदा लामो समय अध्ययन–अध्यापन प्रभावित हुने गरेको त्रिविको भनाइ छ । त्यसैले यसपटक त्रिविले क्यानसँगको सम्झौता नवीकरण नगर्ने अडान लिएको हो ।

क्यान र त्रिविबीचको वर्तमान सम्झौता वैशाख मसान्तमा सकिँदैछ । विश्वविद्यालयले कीर्तिपुर क्षेत्रमा मात्रै करिब १ हजार रोपनी जग्गा अतिक्रमण भएको भन्दै त्यसलाई फिर्ता ल्याउन कदम चालेको हो ।

त्रिविको उक्त निर्णयपछि क्यानले भने सरकारलाई गुहारेको छ । गत चैतमा बसेको क्यानको बोर्ड बैठकले त्रिवि मैदानको करार सम्झौता नवीकरणका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)मार्फत सरकारलाई अनुरोध गर्ने निर्णय पनि गरिसकेको छ ।

त्रिविको पछिल्लो निर्णयसँगै सरकारले त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको सुविधासम्पन्न रंगशाला बनाउन थालेको प्रयास र करिब १० अर्ब रुपैयाँको गुरुयोजना पनि अन्योलमा परेको छ ।

सरकारका प्रवक्तासमेत रहेका युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले भने त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कुनै समस्या नरहेको बताएका छन् ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा सोमबार सञ्चारकर्मीद्वारा सोधिएको प्रश्नको जवाफमा मन्त्री पोखरेलले क्यान त्रिविबीचको लिज अवधि सकिएकाले नयाँ तरिकाले सम्झौता गर्ने तयारी भइरहेको बताए ।

उनले यस विषयमा त्रिविका उप–कुलपतिसँग छलफल पनि भइसकेको जानकारी दिए ।

‘मेरो उपकुलपतिसँग बैठक थियो । रजिस्ट्रार, रेक्टर र भीसीज्यूहरू पनि हुनुहुन्थ्यो । सकारात्मक कुरा भएको छ । रंगशाला खाली गराउने उद्देश्य होइन, लिज एग्रिमेन्ट सकिएकाले फेरि गर्नुपर्नेछ । अब नयाँ खाले लिज एग्रिमेन्ट हुन्छ । कुनै समस्या छैन,’ उनले भनेका छन् ।

मन्त्री पोखरेलले त्रिवि क्रिकेट मैदान भत्काउने कुनै योजना नरहेको पनि स्पष्ट पारे ।

‘क्रिकेट मैदानमा राज्यको यत्रो लगानी भएको छ । त्यसमाथि दुवै सरकारी निकाय हुन् । स्टेडियम भत्काउने कुरामा सत्यता छैन । लिज सकिएकाले फेरि नयाँ एग्रिमेन्ट गर्नुपर्छ,’ उनले भनेका छन् ।

हेर्नुहोस्, भिडियो : 

 

salt training

कमेन्ट गर्नुहोस्