
काठमाडौं, २१ पुस – निजी क्षेत्रका विभिन्न हवाईसेवा कम्पनीहरूले तिर्नुपर्ने विभिन्न शीर्षकअन्तर्गतको करोडौं शुल्क तिर्न बाँकी रहेको खुलेको छ । यसमध्ये एयर एसिया एक्सले त्रिभुवन विमानस्थललाई तिर्नुपर्ने विभिन्न शुल्कबापतको २३ करोड रुपैयाँभन्दा बढी रकम तिर्न अटेर गरेको खुलासा भएको छ ।
उक्त एयरलाइन्सले विमानस्थललाई तिर्नुपर्ने अवतरण शुल्क (ल्यान्डिङ चार्ज), सञ्चार तथा उड्डयन सहायक सेवा (एयर नेभिगेसन), विमानस्थल विकास शुल्क, कोठाभाडा लगायतको शुल्क तिर्न बाँकी रहेको पत्ता लागेको हो ।
विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायका अनुसार, यो बक्यौता रकम तीन वर्षयताको हो । उनका अनुसार, आउने आइतवारसम्म सबै रकम दाखिला नगरे उडान समेत रोकिनेछ । लोकान्तरसँग कुरा गर्दै उपाध्यायले भने, ‘पटकपटक ताकेता गर्दा पनि एयरलाइन्सले तीन वर्षदेखि विभिन्न शुल्क तिर्न अटेर गरेको छ । अब सिधै कारवाहीको प्रक्रियामा अगाडि बढेका हौं ।’
उपाध्यायका अनुसार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई सबैभन्दा धेरै तिर्न बाँकी विदेशी एयरलाइन्समा एयर एसिया एक्स पर्छ । हाल यो एयरलाइन्सले एयरबसको वाइडबडी विमानबाट सातामा चार उडान भर्दै आएको छ ।
एयर एसियाले सातामा चार दिन क्वालालम्पुर–काठमाडौं–क्वालालम्पुर सीधा उडान भर्दै आएको छ । सो एयरलाइन्सको नेपाली सेल्स एजेन्ट (जीएसए) लाजिम्पाटमा रहेको इन्सेन्टिभ टुर्स एन्ड ट्राभल्स प्रालि हो । नेपाली सेल्सका प्रमुख हरिमान लामा हुन् । उनी विवादास्पद छविका व्यापारी हुन् ।
आन्तरिक उडान गर्ने एयरलाइन्समध्ये सिम्रिक एयरलाइन्स र सौर्य एयरलाइन्सले पनि डेढ–डेढ करोड रुपैयाँ हाराहारीमा ल्यान्डिङ, पार्किङ, एयर नेभिगेसन, कोठा बहाललगायत सेवाको शुल्क तिर्न बाँकी रहेको उपाध्यायले जानकारी दिए ।
यसैबीच एयर एसियाले पर्यटन बोर्डलाई पनि ७ करोड २३ लाख रुपैयाँ तिर्नुपर्ने देखिएको छ । एयरलाइन्सले बोर्ड र विमानस्थललाई गरी ३० करोड तिर्न बाँकी रहेको देखिएको छ ।
पर्यटन बोर्डका सदस्य राजेन्द्रप्रसाद सापकोटाका अनुसार, यात्रुबाट टिकटमार्फत लिइसकेको रकम एयरलाइन्सले पटक–पटक ताकेता गर्दा पनि तिरेको छैन ।
पर्यटकहरूले नेपाल प्रवेश गरेबापत तिर्नुपर्ने शुल्क नेपाल पर्यटन बोर्डलाई तिर्नुपर्ने हुन्छ । एयारलाइन्सले सो रकम हवाई टिकटमै समावेश गरी बोर्डलाई बुझाउनुपर्छ ।
सो एयरलाइन्सको नेपाली सेल्स एजेन्ट (जीएसए) इन्सेन्टिभ टुर्स एन्ड ट्राभल्स प्रालिले पनि पर्यटक सेवा शुल्क लिइसकेको जनाएको छ ।
नेपालबाट हवाईजहाजमा फर्किने हरेक विदेशीले एक हजार रुपैयाँ पर्यटन सेवा शुल्क अनिवार्य तिर्नुपर्छ । यो रकम एयरलाइन्सहरूले बोर्डको खातामा जम्मा गर्नुपर्ने हुन्छ । यो नै पर्यटन बोर्डको प्रमुख आयस्रोत भएकाले समयमा तिर्नुपर्ने सापकोटाको भनाइ छ ।
बोर्डले पटकपटक ताकेता गर्दा पनि कम्पनीले शुल्क तिर्न नमानेपछि गत महिना पर्यटन मन्त्रालयलाई समेत जानकारी गराएको सापकोटाले बताए ।
एजेन्सीले नेपाल पर्यटन बोर्डलाई १८ लाखको चेक पर्यटन बोर्डमा बुझाएपनि चेक बाउन्स भएको समेत खुलेको छ ।
यसैबीच विमानस्थल कार्यालयका अनुसार, एयर एसियाले उक्त रकम नतिरे उडान भर्न नदिने निर्णय भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार, आगामी आइतवारभित्र शुल्क नतिरे सोमवारदेखि उडान गर्न नदिने निर्णय भएको हो ।
यस विषयमा बुझ्न खोज्दा एयर एसियाका नेपालस्थित एजेण्ट हरिमान लामा सम्पर्कमा आउन चाहेनन् ।