०७ साउन २०८३, बिहीबार

पूर्णबहादुर खड्कालाई सोधिएको स्पष्टीकरण तामेलीमा राख्ने कांग्रेसको निर्णय

बैशाख १६, २०८३
काठमाडौं
पूर्णबहादुर खड्कालाई सोधिएको स्पष्टीकरण तामेलीमा राख्ने कांग्रेसको निर्णय
फाइल फोटो

नेपाली कांग्रेसले पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण तामेलीमा राख्ने निर्णय गरेको छ । 

कांग्रेस विवादमा सर्वोच्च अदालतको फैसलापछि स्पष्टीकरणको निर्णयको औचित्य समाप्त भएकाले तामेलीमा राख्ने निर्णय भएको कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।​

'नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको मिति २०८३ वैशाख २ गतेको निर्णयअनुसार पूर्व कावा सभापति पूर्णबहादुर खड्कालाई पदीय जिम्मेवारीका सम्बन्धमा स्पष्टीकरण सोधिएकोमा सम्मानित सर्वोच्च अदालतको मिति २०८३/०१/०४ गतेको फैसलापश्चात् उक्त निर्णयको औचित्य समाप्त भएकोले हाल यस विषयको निर्णय प्रक्रियालाई तामेलीमा राख्ने निर्णय गर्दछ,' जारी विज्ञप्तिमा भनिएको छ ।

यसैगरी, कांग्रेसले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)लाई निलम्बन गरेको छ ।

पार्टी नेतृत्वविरुद्ध भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको भन्दै कांग्रेसको अनुशासन समितिले उनलाई निलम्बन गरेको हो ।

'...अनुशासन उल्लंघन गरेको कसुरमा निर्णय नहुन्जेलसम्मका लागि पूर्णबहादुर तामाङ (कान्छाराम)लाई आजैका मितिदेखि नेपाली कांग्रेस रामेछाप जिल्लाको सभापति पदमा रही कामकाज गर्न नपाउने गरी निलम्बन गर्ने निर्णय गर्दछ,' जारी विज्ञप्तिमा भनिएको छ ।

कमेन्ट गर्नुहोस्