
मृतकको नाममा रहेको जग्गा नक्कली हकवाला खडा गरी नामसारी गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले मालपोत कार्यालय, रूपन्देही, भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्यसहित ७ जना विरुद्ध बुधबार भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
आयोगले आचार्यसहित तत्कालीन मालपोत अधिकृत भूमिश्वर ढकाल, नायब सुब्बा राजु शर्मा, खरिदार अजितकुमार साहनी, सियारी गाउँपालिका वडा नम्बर २ का तत्कालीन अध्यक्ष रामकिशन थारू, तत्कालीन वडा सदस्य बुद्धिराम कहारसहितलाई प्रतिवादी कायम गरेको छ ।
मृतकको नाममा रहेको जग्गा नक्कली हकवाला खडा गरी नामसारी गरेको दाबी आयोगको छ ।
रूपन्देहीको सियारी गाउँपालिका वडा नम्बर २ का मृतक बेलर कहारको नाममा रहेको २ बिघा ५ धुर (२-०-५ बिगाहा) जग्गा फर्जी कागजातका आधारमा अर्कैको नाममा सारिएको अभियोगपत्रमा उल्लेख छ ।
आयोगका अनुसार मृतक बेलर कहारको मृत्युपश्चात् उक्त जग्गाको वास्तविक हकवाला उनकी छोरी सन्जु कहार थिइन् । तर, सन्जुलाई हकबाट वञ्चित गर्ने बदनियतले स्थानीय बुद्धिराम कहारलाई मृतक बेलरको भाइ भनी नक्कली नाता प्रमाणित गरिएको थियो ।
सोही फर्जी नाता प्रमाणित, सर्जमिन मुचुल्का र सिफारिसका आधारमा मालपोत कार्यालयका कर्मचारी र स्थानीय जनप्रतिनिधिको मिलेमतोमा सरकारी अभिलेखमा विवरण थपघट गरी बुद्धिराम कहारको नाममा जग्गा हस्तान्तरण तथा नामसारी गरिएको थियो ।