२७ असार २०८३, शनिबार
सिटौलाको राजनीतिक अवरोह

कृष्ण सिटौला: अध्यक्ष बन्न राष्ट्रिय सभामा गए, गगनविरुद्ध लाग्दा दलको नेता पनि गुमाए !

बैशाख १६, २०८३
काठमाडौं
कृष्ण सिटौला: अध्यक्ष बन्न राष्ट्रिय सभामा गए, गगनविरुद्ध लाग्दा दलको नेता पनि गुमाए !

कुनै बेला नेपाली कांग्रेसभित्रको समीकरणका 'किङमेकर' रहेका कृष्ण सिटौलाको राजनीतिक अवरोह शुरू भएको छ । आफैँले 'ग्रुम' गरेका नेता गगन थापाविरुद्ध लाग्दा सिटौलाको संसदीय दलको नेता पद गुमेको छ ।

२०७२ फागुनमा सम्पन्न कांग्रेसको १३औं महाधिवेशनमा गगन थापा सिटौलाको प्यानलबाट महामन्त्रीमा प्रतिस्पर्धा गरेका थिए । कांग्रेसमा तेस्रो धारको रूपमा सिटौलालाई सभापतिको उम्मेदवार बनाएर प्यानल बनाउन गगन सहमत भएका थिए ।

त्यो बेला गगनले 'रगतको लिगेसी' छाड्न सिटौला तयार भएको अर्थात कोइराला परिवारको ग्रिपबाट बाहिर निस्कन तयार भएको भन्दै सिटौलासँग प्यानल बनाएर महाधिवेशनमा प्रतिस्पर्धा गरेका थिए ।

संविधान निर्माणका क्रममा महत्वपूर्ण भूमिका खेलेका सिटौला कांग्रेस सभापति बन्दा संविधान कार्यान्वयनमा सहजता हुने विश्वास गगनको थियो । गगनले नातामा आफ्नै ससुरा पर्ने अर्जुननरसिंह केसीसँग प्रतिस्पर्धा गर्दा डा. शशांक कोइरालालाई चिट्ठा परेको थियो ।

२०७८ सालमा भएको १४औं महाधिवेशनमा भने गगनले शेखर कोइरालाको नेतृत्वमा प्यानल बनाए । सिटौलाले गगनसँगै प्यानल बनाउन प्रस्ताव गरेपनि गगनले शुरूमै उम्मेदवारी घोषणा गरेकाले सिटौला जिल्लिए ।

कृष्णप्रसाद सिटौला

१४औं महाधिवेशनको पूर्वसन्ध्यामै सिटौला समूहलाई गगनले परित्याग गरिसकेका थिए । गगन शेखर समूहबाट महामन्त्री निर्वाचित भए ।

निवर्तमान पार्टी सभापति शेरबहादुर देउवा समूह विधानको बाध्यकारी व्यवस्थाअनुसार नियमित महाधिवेशन गर्न राजी नभएपछि गगन थापा र विश्वप्रकाश शर्माहरूले विशेष महाधिवेशनको जोखिम उठाए; अग्रपंक्तिको विरोधमा सिटौला उभिए ।

कुनै बेला आफ्नै समूहमा रहेका प्रदीप पौडेल लगायतका नेताहरू विशेष महाधिवेशनको पक्षमा लाग्दा सिटौला भने विरोध गरिरहे । विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिइसक्दा समेत सिटौलाले गगन सभापति बनेको कुरालाई सहज लिन सकेनन् ।

'अपमानजनक ढंगले हटाइएका सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बरु गगनको अस्तित्व स्वीकारे होलान् । सिटौला र विमलेन्द्र निधिले विशेषलाई मानेकै छैनन्,' देउवा पक्षीय एक नेताले भने ।

बन्न खोजेका थिए राष्ट्रिय सभा अध्यक्ष,दलको नेता पनि गुम्यो

तत्कालीन प्रधानमन्त्री एवं नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डको आश्वासनपछि सिटौला राष्ट्रिय सभा चुनाव लड्न राजी भए । ०७९ सालको चुनावमा राजेन्द्र लिङ्देनसँग पराजित भएर भूमिकाविहीन बनेका सिटौला राष्ट्रिय सभा अध्यक्ष बन्ने महत्त्वाकांक्षासहित चुनाव लडेका थिए ।

२०८० माघमा राष्ट्रिय सभाको चुनाव हुँदासम्म तत्कालीन माओवादी र कांग्रेसको सरकार थियो । तर, राष्ट्रिय सभा अध्यक्ष निर्वाचनका बेला प्रचण्डले कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग सरकार बनाएका थिए ।

राष्ट्रिय सभा अध्यक्षको मनोनयन गर्ने २ दिनअघि सिटौला कांग्रेस महामन्त्री गगन थापालाई लिएर प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । तर, प्रचण्डले संवैधानिक परिषद्को सदस्य गुमाउन चाहेनन् । नातामा भाइ पर्ने नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्ष बनाएर सिटौलालाई जिल्लाइदिए ।

शान्ति प्रक्रिया र संविधान लेखनका बेलाको सम्बन्ध कोट्याउँदै सिटौलाले प्रचण्डलाई धोकेबाजको संज्ञा दिएका थिए । राष्ट्रिय सभा अध्यक्ष बन्न नपाए पनि सिटौला कांग्रेस संसदीय दलको नेता थिए ।

संसदीय दलको नेताको हैसियतमा उनले सुविधा पाउँदै आएका थिए । तर, बुधवार (२०८३ वैशाख १६) गते सिटौलाको त्यो पद खोसिएको छ ।

आफूभन्दा जुनियर कार्यकर्ता रहेका प्रतिनिधि सभामा संसदीय दलको नेता रहेका भीष्म आङदेम्बेले सिटौलालाई हटाएर कमला पन्तलाई दलको नेता बनाएका छन् ।

पार्टीको नेतृत्व परिवर्तन भएपछि संसदीय दलको नेता बदलिनु सामान्य जस्तो देखिए पनि अन्तर्यमा गगनविरुद्ध लागेबापत सिटौलाको पद गएको कांग्रेस नेताहरूको बुझाइ छ ।

'विशेष महाधिवेशनबाट आएको नेतृत्वविरुद्ध नलागेको भए सिटौलालाई दलको नेताबाट हटाउनु पर्ने कारण थिएन, तर नेतृत्वविरुद्ध लागेपछि यो स्वाभाविक भयो,' उनले भने ।

आङदेम्बे पनि देउवा समूहका नेता थिए । देउवा समूहबाटै समानुपातिकको अग्रस्थानमा रहेका आङदेम्बेले विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई स्वीकार गरे । संसदको रोष्टमबाटै कांग्रेस बदलिएको कुरा बोले । परिवर्तनलाई आत्मसात गरेकै कारण आङदेम्बेले संसदीय दलको नेता पाए ।

भीष्मराज आङ्देम्बे

लो प्रोफाइलमा रहेका सिटौलालाई २०६३ सालमा गिरिजाप्रसाद कोइरालाले गृहमन्त्री बनाएर माओवादीसँग वार्ता गर्ने टोलीको संयोजक बनाइदिएपछि उनको राजनीतिक हाइट बढेको थियो । त्यसपछि उनी कांग्रेसको महामन्त्री पनि बने ।

जनआन्दोलनपछि बनेको सरकारको गृहमन्त्रीको रूपमा सिटौलाले नै नेपाललाई गणतन्त्र घोषणा गर्ने प्रस्ताव संसदमा पेश गरेका थिए । पहिलो संविधानसभा चुनावमा माओवादीका मामुली कार्यकर्ता भीष्म धिमालसँग तत्कालीन बहालवाला गृहमन्त्री सिटौला हारेका थिए ।

दोस्रो संविधानसभामा चुनाव जितेका सिटौलाले संविधान मस्यौदा समितिको सभापतिको रूपमा काम गरेका थिए; गगन थापा सोही समितिमा थिए । संविधान मस्यौदा लेखनको जस पाएका सिटौला लगत्तैको महाधिवेशनमा सभापतिका प्रत्याशी बनेका थिए ।

गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको निधन तथा शेरबहादुर देउवा कांग्रेसको नेतृत्वमा आएपछि सिटौला पार्टीमा भूमिकाविहीन जस्तै बनेका थिए । राष्ट्रिय सभामा दलको नेताको जिम्मेवारी समेत खोसिएपछि सिटौलाको ओरालो यात्रा शुरू भएको छ ।

१४औं महाधिवेशनमा सिटौला समूहबाट केन्द्रीय सदस्य बनेका कुन्दनराज काफ्ले सिटौलालाई दलको नेताबाट हटाउनु गलत भएको बताउँछन् । 'पार्टीभित्र छलफल गरेर निर्णय गर्नुपर्थ्यो, सल्लाह नगरी नेताबाट हटाउनु गलत भयो,' काफ्लेले लोकान्तरसँग भने ।

salt training

कमेन्ट गर्नुहोस्