२२ जेठ २०८३, शुक्रबार
थापाथली पुग्दा जे देखियो...

डोजर चलेपछिको उजाड थापाथली- भग्नावशेषमा के खोज्दैछन् सुकुम्वासी ? [भिडियो]

बैशाख १७, २०८३
काठमाडौं

काठमाडौंको थापाथलीस्थित बागमती किनार अहिले कुनै उजाड युद्ध मैदानभन्दा कम देखिँदैन । केही दिनअघिसम्म बाक्लो बस्ती, टिनका छाना, काठका टहरा, बालबालिकाको चहलपहल र चुल्होको धुवाँले भरिएको ठाउँ अहिले धुलो, भग्नावशेष र सन्नाटाले ढाकिएको छ ।

सरकारले गत शनिबारदेखि थालेको सुकुम्वासी बस्ती हटाउने अभियानको पहिलो निशाना बनेको थियो थापाथली । डोजर चलेको तीन दिनपछि त्यहाँ पुग्दा मानिसहरूभन्दा बढी भत्किएका घरका टुक्रा, च्यातिएका कपडा, फुटेका भाँडाकुँडा र ढलेका काठका खामाहरू देखिए ।

बस्ती हटाइएपछि खाली भएको जमिनमा कतै टिनका पातहरू हावाले उडाइरहेका छन्, कतै आधा भत्किएका टहराहरू अझै उभिएका छन् ।

डोजर चलेको तीनसम्म कोही चुपचाप आफ्नो टहराको अवशेष हेर्दै बसेका छन्, कोही भत्किएका काठहरू छुट्याउँदै छन्, त कोही च्यापिएका सामान निकाल्न खोजिरहेका छन् ।

भत्किएका घरका भग्नावशेषबीच केही पुराना भाँडाकुँडा खोजिरहेका थिए । एक पुरुषले काठका केही टुक्रा काँधमा बोकेर लैजाँदै थिए । 'काम लाग्ने जे छ, त्यो त निकाल्नै पर्‍यो,' उनी भन्दै थिए ।

कतिपय परिवार डोजर चलेपछि आफन्तकहाँ पुगेका छन् । केहीलाई सरकारले अस्थायी रूपमा अन्यत्र सारेको छ । 

त्यसैले अहिले बस्तीमा पहिलेजस्तो भीडभाड छैन । फर्किएका केही परिवार भने आफ्नो जीवनका बाँकी टुक्रा समेट्न व्यस्त देखिन्छन् ।

सरकारले भत्काइएको ठाउँबाट आवश्यक सामान निकाल्न शुक्रबारसम्म समय दिएको छ । त्यसैले बिहानदेखि बेलुकासम्म केही मानिसहरू आउँछन्, सामान खोज्छन्, बाँकी रहेका काठ, टिन, कपडा वा भाँडाकुँडा बोकेर फर्किन्छन् ।

salt training

कमेन्ट गर्नुहोस्