
नेपाल टेलिकमले देशका विभिन्न विकट तथा दुर्गम स्थानमा स्याटेलाइट प्रविधिमा आधारित जीएसएम मोबाइल तथा भीस्याट टेलिसेन्टर उपकरण जडान गरी टुजी प्रविधिमा आधारित जीएसएम मोबाइल, टेलिफोन र डाटा सेवा प्रदान विस्तार गरेको छ ।
चालु आर्थिक वर्षमा डोल्पाको उपल्लो डोल्पास्थित कान्छो गाउँ कुगाउँ तथा निजाल, च्छो–रोल्पा पदमार्ग रहेको दोलखाको ना–गाउँ र गोसाईंकुण्ड पदमार्ग रहेको रसुवाको चन्दनबारी गरी चार स्थानमा स्याटेलाइट प्रविधिमा आधारित जीएसएम मोबाइल सेवा विस्तार गरिएको टेलिकमले जनाएको छ ।
हाल नेपाल टेलिकमले यस्ता विभिन्न ३८ स्थानमा यो प्रविधिबाट मोबाइल सेवा प्रवाह गरिरहेको छ । यो प्रविधिका सबैभन्दा बढी अर्थात १४ साइट डोल्पा जिल्लामा रहेका छन् ।
डोल्पाको छार्का–ताङसोङ, छार्का, धो, घुन्सापास, कलाङ, मुकोट, निजाल, फोक्सुन्डो, साल्दाङ, सिम्बाडाँडा, सिमेन्कोमास, तिन्जे, भिजेर र कुगाउँमा यी साइट रहेका छन् ।
हुम्लाको गोठी, राया, रोडीकोट, श्रीनगर र श्रीमस्ठ तथा मुगुको मुगुगाउँ, पुलु, रारा (मुर्मा), सोरुकोट र भी गरी पाँच/पाँच स्थानमा साइट रहेका छन् ।
यसैगरी, मनाङको भिमथाङ, फु र नार, दोलखाको बेदिङ र ना–गाउँ (च्छो–रोल्पा), ताप्लेजुङको घुन्सा र ओलाङचुङगोला, सोलुखुम्बुको गोरक्छेप र मोन्जु, रसुवाको गोसाईंकुण्ड र चन्दनबारी तथा दार्चुलाको तिंकर, बाजुराको बिच्छा र जुम्लाको गुठीचौरमा यस्ता साइट नेपाल टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरले जानकारी दिए ।

नेपाल टेलिकमले शहरी र सुगम क्षेत्रमा मात्र नभई भौगोलिक हिसाबले देशभरका अत्यन्त विकट तथा जनसंख्याको कोणबाट निकै कम मानिस रहने दुर्गम वस्तीमा सेवा उपलब्ध गराउनका लागि भीस्याट प्रविधिको प्रयोग गरेको छ ।
यस्ता दुर्गम वस्तीमा सेवा उपलब्ध गराउनका लागि कम्पनीले हेलिकप्टरबाट उपकरण र सामान ओसारेर समेत दूरसञ्चार सेवा उपलब्ध गराउँदै आएको प्रवक्ता मानन्धरले बताए ।
‘यस्ता स्थानमा कम्पनीले गरेको लगानीबाट व्यावसायिक लाभ हासिल हुँदैन । यो विशुद्ध रूपमा ‘नेपाल टेलिकम राष्ट्रको सञ्चार’ भन्ने कम्पनीको मूल नारालाई साकार बनाउने प्रयास मात्र हो । आगामी दिनमा यी साइटहरूलाई अन्य प्रविधिमार्फत स्तरोन्नति गर्ने कार्य गरिनेछ’, प्रवक्ता मानन्धरले भने ।
नेपाल टेलिकमद्वारा कार्यान्वयन भइरहेको ब्याकबोन ट्रान्समिसन परियोजना अन्तर्गत यी कार्य भइरहेका छन् । त्यसैगरी ब्याकबोन प्रसारण निर्देशनालय अन्तर्गत सञ्चालित अप्टिकल फाइबर नेटवर्कको विस्तारमार्फत् पूर्व–पश्चिम तथा उत्तर–दक्षिण करिडोरसँगै प्रमुख शहरी, अर्धशहरी तथा ग्रामीण क्षेत्रमा उच्च क्षमतायुक्त, सुरक्षित तथा भरपर्दो डाटा ट्रान्समिसन सेवा सुनिश्चित गर्नका लागि आवश्यक कार्य समेत भइरहेका छन् ।
निर्देशनालय अन्तर्गत ब्याकबोन सुदृढीकरण कार्यक्रमका विविध गतिविधि चरणबद्ध रूपमा कार्यान्वयन भइरहेका छन् । यस अनुसार विभिन्न स्थानमा अप्टिकल फाइबर केबल (ओएफसी) सर्भे, एडीएसएस ओएफसी विस्तार लगायतका कार्य भइरहेका छन् ।
नेपाली सेना, सडक विभाग लगायतका निकायसँग मिलेर विभिन्न सडकमा अन्डरग्राउन्ड ओएफसी विस्तार कार्य भइरहेको छ । त्यसैगरी, विकट ग्रामीण क्षेत्र तथा विभिन्न सडकमा अप्टिकल फाइबर ट्रान्समिसन नेटवर्क विस्तारका लागि आवश्यक कार्य भइरहको छ ।

उपकरण तथा नेटवर्क सुदृढीकरणतर्फ उच्च क्षमतायुक्त राउटर तथा डीडब्लुडीएम उपकरणको जडान तथा स्थानान्तरणमार्फत् नेटवर्क क्षमतामा उल्लेखनीय अभिवृद्धि गरिएको छ ।
पुराना स्विच उपकरणलाई आधुनिक राउटरमा स्तरोन्नति गरिएको छ । विभिन्न स्थानमा रहेका लिंकको क्षमता अभिवृद्धि गरिनुका साथै ब्याकअपको रूपमा वैकल्पिक (Redundant) लिंक स्थापना गरिएको छ ।
यसले गर्दा एउटा लिंकमा समस्या आए पनि वैकल्पिक रूपमा अर्को लिंकबाट सेवा प्रवाह गर्न सकिन्छ । त्यसैगरी माइक्रोवेभ लिंक अपग्रेड गर्ने कार्य समेत भइरहेका छन् ।
विशेषत: न्युन जनसंख्या रहेका देशका अति दुर्गम तथा विकट भौगोलिक स्थानमा भरपर्दो र सर्वसुलभ दूरसञ्चार सेवा पुर्याउने उद्देश्य अनुरूप विभिन्न कार्य भइरहेका प्रवक्ता मानन्धरले बताए ।
ती स्थानमा सेवा निरन्तरता सुनिश्चित गर्न वैकल्पिक लिंक विस्तार, सम्बन्धित निकायसँग समन्वय, मर्मतसम्भार सेवा खरिद तथा पूर्वाधार संरक्षणका उपाय अवलम्बन गरिएका छन् ।