०२ साउन २०८३, शनिबार

मुगुको सोरुकोट, बाजुराको बिच्छ्या र कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा

साउन १, २०८३
काठमाडौं
मुगुको सोरुकोट, बाजुराको बिच्छ्या र कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा

नेपाल टेलिकमले मुगुको सोरु गाउँपालिका वडा नम्बर ६ सोरुकोट र बाजुराको सर्वाधिक विकट हिमाली गाउँपालिका वडा नम्बर १ बिच्छ्याको नेटा र वडा नम्बर ५ कुवाडी क्षेत्रमा फोरजी सेवा सञ्चालनमा ल्याएको छ ।

सोरुकोटमा सेवा शुभारम्भसँगै आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरकारी निकायका प्रतिनिधि, नेपाल टेलिकमका प्राविधिक कर्मचारी तथा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाही र उपाध्यक्ष केशरबहादुर शाहीले दुर्गम क्षेत्रमा आधुनिक दूरसञ्चार सेवा विस्तार हुनु स्थानीय नागरिकका लागि ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै सेवाको दिगो सञ्चालन, संरक्षण तथा आवश्यकताअनुसार क्षमता विस्तारका लागि गाउँपालिकाले आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।​ 

बिच्छ्याको नेटामा जडान गरिएको फोरजी टावरबाट कोट, नेटा, बाम, बौडी, यौना र नातीखोला लगायतका गुम्बा सम्म अर्थात बाजुराबाट रानिसैन पुग्ने पदमार्गमा कभरेज पुगेको छ ।

त्यसैगरी कुवाडी खोलाको संगममा रहेका गाउँहरु तथा हुम्ला ताँजाकोट २ जाने मार्गमा समेत यसको कभरेज पुगेको छ ।

फोरजी सेवा सञ्चालनमा आएसँगै स्थानीय बासिन्दाले उच्च गतिको मोबाइल इन्टरनेट, गुणस्तरीय भ्वाइस सेवा तथा एसएमएस सेवाको सहज लाभ लिन सक्ने भएका टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले जानकारी दिए ।

यसबाट स्थानीय आर्थिक तथा सामाजिक विकासमा सकारात्मक योगदान पुग्नुका साथै सो क्षेत्रका बासिन्दाका लागि सूचना, शिक्षा, स्वास्थ्य र सरकारी सेवामा पहुँच थप सहज हुने अपेक्षा गरिएको छ ।

‘राष्ट्रको सञ्चार’ को रुपमा रहेको नेपाल टेलिकमले देशका सुगमदेखि अति दुर्गम स्थानहरूमा अत्याधुनिक दूरसञ्चार सेवा र सूचना प्रविधिको पहुँच पुर्‍याउने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्