आमा बितेको ५ औं दिनमा कुमारी तामाङको टहरामा डोजर चल्यो । झन्डै २१ वर्षअघि खान–बस्न अप्ठ्यारो भएपछि तामाङको परिवार थापाथलीको सुकुम्बासी बस्तीमा पुगेको थियो । अहिले त्यही बस्तीको वरपर पनि जान उनको मनले मानेको छैन ।
‘आमा बितेको ५ दिन भएको थियो । शनिबार डोजर चल्यो । फेरि त्यही ठाउँमा जाँदा सम्झना आउँछ’, तामाङले सुनाइन् । उनको एउटै इच्छा छ– ‘बाँकी जिन्दगीमा सानै भए पनि आफ्नै नाममा लालपुर्जा भएको ठाउँमा मर्न पाए हुन्थ्यो ।’
नदी किनारमा टहरा बनाएर बसिरहेकी तामाङको परिवारलाई ५ दिनदेखि नयाँ बसपार्कको ‘होटल टोकियो टाउन’मा राखिएको छ । सोही होटलमा हामीले उनको अवस्थाबारे बुझ्यौं । उनले आफ्नो कथा सुनाइन् ।
विस्तृत कथा भिडियोमा हेर्न सक्नुहुन्छ ।
मिसन बाग्लुङ गेस्ट हाउसको कोठाभित्र काखमा छोरा खेलाएर बसिरहेकी थिइन्, सुशीला राई । सानै उमेर विदेश गएर कमाएको सम्पत्तिले नदी किनारमा घर बनाएकी थिइन् । शनिबार उनको घरमा डोजर चल्यो । ‘वर्षौं दु:ख गरेर कमाएको पैसाले निर्माण गरेको घरमा डोजर चल्यो । श्रीमान मलेसिया गएको पनि ५/६ महिना मात्रै भएको छ,’ उनले भनिन् ।
गत शनिबार मात्रै काठमाडौंका खोला किनारका सुकुम्बासी बस्तीहरूमा सरकारले डोजर चलायो । खोला किनारमा वर्षौंदेखि बस्दै आएका बस्तीहरू सरकारले खाली गरिरहेको छ ।
सुकुम्बासी बस्तीभित्रको अर्को एउटा कथाहेर्नुहोस्, भिडियोमा: