
प्रहरीले लागुऔषध कारोबारीबाट पेस्तोल र गोली बरामद गरेको छ ।
लागुऔषध नियन्त्रण ब्यूरो (एनसीबी) ले काठमाडौंको बूढानीलकण्ठका कवीर देउला, सबिना पोडे, संसार सिटौला र ललितपुर गोदावरीका सुवास शाहीलाई पक्राउ गरेको हो ।
लागुऔषध कारोबारी भइरहेको गोप्य सूचनाका आधारमा खटिएको एनसीबीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
एनसीबीका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णप्रसाद कोइरालाका अनुसार पक्राउ परेका मध्ये देउलाको साथबाट एक थान पेस्तोल, त्यसमा लाग्ने तीन वटा म्याग्जिन र ६ राउण्ड गोली बरामद भएको हो ।
उनीहरूबाट प्रहरीले १६ हजार ७ सय ५० वटा ट्रामाडोल ट्याबलेट बरामद गरेको कोइरालाले लोकान्तरलाई जानकारी दिए । ‘यो गिरोहले लामो समयदेखि काठमाडौं आसपासमा लागुऔषध ट्रामाडोलको कारोबार गरेको सूचना पाएपछि खोज्दै जाँदा उनीहरुलाई नियन्त्रणमा लिन सफल भयौँ,’ उनले भने ।
प्रहरीद्वारा बरामद पेस्तोल अन्य अपराधमा पनि प्रयोग भए/नभएकोबारे अनुसन्धान भइरहेको कोइरालाले जानकारी दिए ।