
नेपाली कांग्रेसका सभापति गगन थापाले नदी किनाराबाट सुकुम्बासी हटाउने कुरा सही भएपनि राज्यले नागरिकलाई युद्धअपराधीको जस्तो व्यवहार गर्न नमिल्ने बताएका छन् ।
राज्यलाई ढाँट–छल गरेका नक्कली सुकुम्बासीलाई पहिचान गरेर कारबाही गर्नुपर्ने उनको भनाइ छ । ट्रेड युनियन कांग्रेसले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा थापाले बहुमत छ भन्दैमा सरकारले कानून मिचेर काम गर्न नपाउने बताएका हुन् ।
'मे दिवसको अवसरमा हामी छलफल गरिरहँदा काठमाडौंको कैयौं बस्तीमा डोजर लगाइएको छ । नदीको किनारमा बसेका मानिसमध्ये कैयौं राज्यलाई ढाँट–छल गरेर बसेका र अनेकौं ठाउँमा घर जग्गा–जमिन भएका छन् । उनीहरूको पहिचान गर्ने, दण्ड दिने, त्यहाँबाट हटाउने कानूनले व्यवस्था गरेको छ र सरकारलाई जिम्मा दिएको छ,' सभापति थापाले भने, 'नदीको किनार खाली गर्नुपर्छ । तर, नदीको किनारमा नभएपनि कहीँ न कहीँ बस्न पाउने अधिकार कानून र संविधानले व्यवस्था गरेको छ । कानूनको शासनको परिधिभित्र रहेर सरकारले सोच्छ, त्यो बेला उसले आफ्ना नागरिकसँग युद्ध अपराधी जस्तो व्यवहार गर्न सक्दैन, गर्ने आँट गर्नै सक्दैन ।'
सरकारले काठमाडौंको नदी किनारामा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका सुकुम्बासी बस्तीमा डोजर चलाउने कामलाई शुक्रबार पनि निरन्तरता दिएको छ ।