२४ जेठ २०८३, आइतबार
मोहन–सुमिताको सिर्जनात्मक यात्रा

काष्ठकलामा जमेको कर्मशील जोडी

बैशाख १९, २०८३
बुटवल
काष्ठकलामा जमेको कर्मशील जोडी

बुटवल सुख्खानगरस्थित काष्ठकलाले भरिपूर्ण कलात्मक घरमा मोहनविक्रम प्याथ र उनकी पत्नी सुमिता सधैंजसो काठमा कला भर्नमै व्यस्त हुन्छन् । आधुनिकताले पछिल्ला वर्ष काठको कलात्मक काम लोप हुन थालेको अवस्थामा पनि प्याथ दम्पती तीन दशकदेखि यही क्षेत्रलाई आफ्नो प्रमुख पेसा बनाएर काम गरिरहेका छन् ।

विगत तीन दशकदेखि उनीहरूको दैनिकी काठको सुगन्ध, औजारको टाक–टुक आवाज र सृजनात्मक सोचबाट सुरु हुने गर्छ । मोहनको यो पेसा पुर्ख्यौली हो । सानो उमेरमा बुबा/हजुरबुबाबाट काठमा आकृति कुँद्ने सीप सिक्दै उनले यसलाई आफ्नो जीवनको आधार बनाएका थिए । विवाहपछि सुमितालाई पनि यसै क्षेत्रमा लाग्नुपर्छ भनेर मोहनले जोड दिए । अहिले सुमिता पनि काठमा सबै प्रकारका कला र कृति भर्न र बनाउन सक्ने बनिसकेकी छन् ।

प्याथ परिवारको यो कर्मशील जोडी काठमा सिर्जना र सपना भर्ने काममा दिनरात तल्लीन छ । सुमिता सुरु–सुरुमा केबल मोहनको सहयोगी मात्र थिइन् । काठ सफा गर्ने र तयार सामग्री मिलाउने काम गर्थिन् । मोहनले गरेको काम देखेर उनले पनि विस्तारै काठमा बुट्टा र कला भर्न सिकिन् । अहिले प्याथ जोडी काष्ठकलामा निपुण बनेको छ । ‘हामी दुवैको सीप जोडिँदा मात्र यो काम सम्भव भयो,’ मोहन भन्छन् । अहिले उनीहरूले भक्तपुरको ऐतिहासिक काष्ठकलालाई मोफसलमा स्थापित गराएका छन् ।

भक्तपुरबाट साढे दुई दशकअघि २०५८ सालमा बुटवल झरेका मोहनले यस क्षेत्रलाई आफ्नो कर्मक्षेत्र बनाए । उनको काम र सिर्जना देखेर यस क्षेत्रमा प्रभाव र खोजी बढ्दै गयो । उनले काठका सामग्रीलाई कलात्मक बनाएपछि अहिले ती धेरैको रोजाइमा छन् । उनीहरूले बनाएका घरका झ्याल, ढोका, मूर्ति, ताम्रपत्र, गजुर र सजावटी सामग्री स्थानीय बजारमा मात्र होइन, विभिन्न ठाउँमा पुग्ने गर्छन् । पुराना पाटी, पौवा, सत्तल, मन्दिर, विहार, दरबार र घरका झ्यालढोका, भित्ता तथा तिनमा कुँदिएका आकृति, थाम, टुँडाल, दलिन, निदाल, तोरण र मण्डल आदि पुराना काष्ठकलाका उत्कृष्ट नमुना प्याथले बनाउँछन् ।

ग्राहक उनीहरूको कामको मौलिकता र परम्परागत शैलीप्रति आकर्षित हुन्छन् । उनीहरूको बजार अहिले थामिसक्नु छैन । उनीहरूकहाँ अहिले दिनहुँ सामान बनाइदिन आग्रह गर्नेहरूको भीड नै लाग्छ ।

नेपालको काष्ठकलाले धेरैलाई लोभ्याउने गर्छ । नेपालको काष्ठकला संसारमा लोकप्रिय र आकर्षणको रूपमा परिचित छ । लिच्छवीकालदेखि नेपालमा सुरु भएको काष्ठकला पछिल्ला वर्ष झन् लोकप्रिय बन्दै गइरहेको प्याथ बताउँछन् । देशको पहिचान र मौलिकताका लागि काष्ठकलाको संरक्षण जरुरी रहेको सुमिता बताउँछिन् । सुमिता काठभित्रै लुकेका अनगिन्ती कला फेला पार्न सक्छिन् । उनी जस्तो किसिमको पनि मूर्ति बनाउन सक्छिन् । यो काम मसिनो गरी धैर्यका साथ गर्नुपर्ने सुमिताको सुझाव छ ।

कुनै आकृति काठमा उतार्नुपर्‍यो भने उनी फोटो हेरेर दुरुस्तै बनाउन सक्छिन् । ‘काठमा आकर्षण र कलात्मक बुट्टाहरू बन्छन्,’ उनी भन्छिन्, ‘कलाकृतिहरू अहिले यस क्षेत्रका भवनदेखि सजावटका सामग्रीमा प्रयोग भइरहेका छन् ।’ काठमाडौं उपत्यकाका सम्पदा र घरहरूमा नेपाली कलाको प्रयोग भएको देखिँदै आए पनि बुटवलका निजी घरदेखि मठमन्दिर तथा अन्य संरचनामा त्यस्तो खासै नदेखिएको उनीहरूको अनुभव छ ।

त्यसैले हरेक घर र कार्यालयमा नेपालीपन झल्किने कुनै न कुरै कलाकृति (झ्याल, ढोका वा अन्य चिज) राख्नुपर्ने उनीहरूको सुझाव छ । मोहन भन्छन्, ‘अहिले यहाँ धेरैले आफ्नो घरको मूल ढोकामा नेपाली हस्तकला जडान गर्ने क्रम बढ्दो छ । आफ्नो घरमा केही न केही नेपालीपन राख्नेहरू देख्दा खुसी लाग्छ । हाम्रा पुर्खाले सम्पदाहरूमा काष्ठकला देखाए, हामीले यसको संरक्षण गर्दै प्रयोग किन नगर्ने ?’ उनको प्रश्न छ ।

उनी काठमा कुँदिएका कलात्मक मूर्तिदेखि मठमन्दिर निर्माण र त्यसमा भरिने कलाहरूको जिम्मा लिने गर्छन् । मेकानिकल इन्जिनियरिङ गरेका प्याथ भन्छन्, ‘सानैदेखि मभित्र कृषि या कलातर्फ लाग्ने सोच थियो । काठमा कला भरेर आत्मसन्तुष्टि पाएपछि यही क्षेत्रमा लागें, अहिले पूर्ण खुसी छु । पाल्पाको नारायण मन्दिर, गुल्मी रिडीको ऋषिकेश मन्दिर र गुल्मी दरबारको कलात्मक निर्माण मैले नै गरेको हुँ ।’

उनले यही कामको सफलता स्वरूप विभिन्न पुरस्कार र सम्मान पनि हात पारेका छन् । धेरैलाई रोजगारी पनि दिएका छन् । उनका कामदारले पनि काठमा विभिन्न आकृतिका कला भर्छन् । सुमिता पनि राष्ट्रिय उत्कृष्ट महिला उद्योगी पुरस्कार प्राप्त गर्न सफल भएकी छन् ।

उनीहरूको चाहना सहर बजारमा बन्ने घरहरूमा नेपाली काष्ठकलाको प्रयोग होस् भन्ने छ । ‘अझै काष्ठकलामा नयाँपन खोजिरहन्छु । सिकेर कहिल्यै सकिने रहेनछ । अझै धेरै सिक्न पाए हुन्थ्यो भन्ने लाग्छ,’ मोहन भन्छन् ।

काष्ठकलासँग शिल्पकारहरूको धेरै गहिरो सम्बन्ध हुन्छ । पछिल्ला वर्ष काष्ठकला धार्मिक मठमन्दिरमा मात्र सीमित हुने क्रम बढ्दो छ । अन्य धातुका संरचनाको प्रयोग बढेको छ, जसले गर्दा शिल्पकारको कामको चाप समेत घट्न थालेको छ ।

यस्तो सीप जानेको व्यक्ति कोही पनि खाली हात बस्नु पर्दैन । राम्रो बुट्टा बनाउन र जिम्मेवारी लिएर काम गर्न सके काष्ठकलाबाट राम्रो कमाइ गर्न सकिन्छ । नेपालमा प्रचलित काष्ठकलाको पुस्तान्तरणका लागि सरकारले नीति र लक्ष्यसहित काम गर्न आवश्यक रहेको प्याथको सुझाव छ ।

salt training

कमेन्ट गर्नुहोस्