१६ असार २०८३, मंगलबार
इरान युद्धबीच हतियार व्यापार

पश्चिम एसियाका आफ्ना सहयोगीहरूलाई ८.६ अर्ब डलरको हतियार बेच्दै अमेरिका

बैशाख २०, २०८३
काठमाडौं
पश्चिम एसियाका आफ्ना सहयोगीहरूलाई ८.६ अर्ब डलरको हतियार बेच्दै अमेरिका

संयुक्त राज्य अमेरिकाले इरानविरुद्ध जारी अमेरिका–इजरायल युद्धका बीच मध्यपूर्वका आफ्ना सहयोगी राष्ट्रहरूलाई ८.६ अर्ब अमेरिकी डलर बराबरको हतियार बिक्री स्वीकृत गरेको छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ‘आपतकालीन अवस्था’को हवाला दिँदै यो सम्झौता अमेरिकी कंग्रेसको पूर्व समीक्षाविना नै द्रुत प्रक्रियामार्फत अघि बढाएका हुन् ।

फेब्रुअरीको अन्त्यदेखि शुरू भएको युद्धयता इजरायल र खाडी राष्ट्रहरूले इरानबाट निरन्तर क्षेप्यास्त्र तथा ड्रोन आक्रमणको सामना गरिरहेका छन् । 

ती आक्रमणका कारण उनीहरूको अमेरिकी हतियार भण्डार तीव्र रूपमा घट्दै गएको छ भने वायु रक्षा प्रणालीमा पनि उल्लेख्य दबाब परेको छ ।

नयाँ स्वीकृतिअनुसार इजरायललाई ९९२ मिलियन डलर बराबरको उन्नत ‘एडभान्स्ड प्रिसिजन किल वेपन सिस्टम’ (एपीकेडब्लुएस) र सम्बन्धित उपकरण उपलब्ध गराइनेछ । कुवेतले भने करिब २.५ अर्ब डलर बराबरको ‘ब्याटल कमान्ड सिस्टम’ खरिद गर्नेछ ।

यसैगरी, कतारलाई करिब ५ अर्ब डलर खर्चेर एपीकेडब्लुएस खरिद गर्न तथा ‘प्याट्रियट’ वायु तथा क्षेप्यास्त्र रक्षा प्रणाली पुनः भर्न अनुमति दिइएको छ ।

संयुक्त अरब इमिरेट्स (यूएई) लाई पनि १४८ मिलियन डलरमा एपीकेडब्लुएस खरिद गर्न स्वीकृति प्रदान गरिएको छ ।

शुक्रबार सार्वजनिक गरिएका सूचनामा अमेरिकी विदेश मन्त्रालयले यी बिक्रीलाई संयुक्त राज्य अमेरिकाको राष्ट्रिय सुरक्षाको हितमा आवश्यक आपतकालीन कदम भन्दै औचित्य पुष्टि गरेको छ । यस क्रममा ‘आर्म्स एक्सपोर्ट कन्ट्रोल एक्ट’ अन्तर्गत हुने कंग्रेसको नियमित समीक्षा प्रक्रिया बाइपास गरिएको छ ।

‘प्याट्रियट’ प्रणाली आउने क्षेप्यास्त्रलाई बीचमै अवरोध गर्न प्रयोग गरिन्छ र यो अमेरिकी सेनाको सबैभन्दा उन्नत रक्षा प्रणालीमध्ये एक मानिन्छ । एपीकेडब्लुएस प्रणालीले निर्देशनविहीन रकेटलाई सटीक लक्ष्य भेदी हतियारमा रूपान्तरण गर्न सक्षम बनाउँछ ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार कुवेतले खरिद गर्ने ब्याटल कमान्ड सिस्टमले राडारमार्फत वायु निगरानी तथा प्रतिरक्षा क्षमतामा उल्लेख्य सुधार ल्याउनेछ ।

यसअघि गत मार्चमा पनि अमेरिकाले यूएई, कुवेत र जोर्डनका लागि १६.५ अर्ब डलर बराबरको छुट्टै हतियार बिक्री स्वीकृत गरिसकेको थियो । 

ती सम्झौतामा यूएईका लागि ड्रोन, क्षेप्यास्त्र, राडार प्रणाली र एफ–१६ लडाकु विमान तथा कुवेतका लागि वायु तथा क्षेप्यास्त्र रक्षा राडार प्रणाली समावेश थिए ।

यता, इरानविरुद्धको युद्धमा अमेरिकी हतियारको उच्च प्रयोगले ताइवानसम्बन्धी सम्भावित द्वन्द्वमा चीनसँग जुध्ने अमेरिकाको क्षमतामाथि प्रश्न उठ्न थालेका छन् । ताइवानलाई बेइजिङले आफ्नो भूभागको रूपमा दाबी गर्दै आएको छ ।

गत महिना सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेशनल स्टडिजले सार्वजनिक गरेको प्रतिवेदनले इरानविरुद्धको युद्धका लागि अमेरिकासँग पर्याप्त हतियार भण्डार रहेको निष्कर्ष निकाले पनि चीनजस्तो शक्तिशाली प्रतिद्वन्द्वी सामना गर्न थप तयारी आवश्यक पर्ने उल्लेख गरेको छ ।

प्रतिवेदनमा भनिएको छ, 'युद्धअघिदेखि नै हतियार भण्डार पर्याप्त थिएनन् । हालको स्तरले भविष्यमा कुनै ठूला द्वन्द्व उत्पन्न भए अमेरिकी सैन्य कारबाही सीमित हुन सक्छ ।'

salt training

कमेन्ट गर्नुहोस्