२५ जेठ २०८३, सोमबार

महिला गोल्डकप फुटबलको उपाधि पुलिस क्लबलाई

बैशाख २०, २०८३
काठमाडौं
महिला गोल्डकप फुटबलको उपाधि पुलिस क्लबलाई

 पोखरामा सञ्चालन भएको पहिलो संस्करणको महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ । 

पोखरा रङ्गशालामा आज सम्पन्न फाइनल खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्बलाई ‘पेनाल्टी सुटआउट’मा ५-४ गोलले पराजित गर्दै पुलिस ‘च्याम्पियन’ बन्न सफल भएको हो ।

उपाधि विजेता पुलिसले रु पाँच लाखसहित ट्रफी पुरस्कार पाउँदा उपविजेता आर्मीले रु तीन लाखमा चित्त बुझायो । पेनाल्टीमा पुलिसका लागि रेखा पौडेल, समीक्षा घिमिरे, पूजा राना, सविना चौधरी र वर्षा चौधरीले गोल गर्दा गोलरक्षक उषा चौधरीको पेनाल्टी आर्मीकी गोलरक्षक कोपिला खड्काले रोकिन् ।

आर्मीका लागि अनिता लाम्जेल, दीपा शाही, हिमा चौधरी र चन्द्रा भण्डारीले गोल गर्दा अन्जना थुलुङ्ग राईको प्रहार पोष्टबारमा लाग्दै बाहिरियो भने इन्दिरा राईको प्रहारलाई पुलिसकी गोलरक्षक उषाले जोगाइन् ।

खेलको निर्धारित ९० मिनेटको समयको खेल गोलरहित बराबरीमा रोकिएको थियो । आर्मी पहिलो हाफमै १० खेलाडीमा सीमित बनेको थियो । पुलिसको एक खेलाडी कम हुँदा सोको फाइदा पुलिसले उठाउन सकेन । खेलको २७औँ मिनेटमा पुलिसकी निर्मला विकले बल अघि बढाउने क्रममा आर्मीकी ‘डिफेन्डर’ विमला विकले पेनाल्टी एरिया नजिक लडाएपछि उनले रातो कार्ड पाएकी थिइन् ।

प्रतियोगितामा पुलिसकी निर्मला विक सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उनले रु ३० हजार पुरस्कार पाइन् । यसैगरी, उत्कृष्ट गोलरक्षक पुलिसकी उषानाथ तथा रेखा पौडेल सर्वाधिक गोलकर्ता बनिन् । रेखाले जारी प्रतियोगितामा कुल पाँच गोल गरेकी थिइन् । उनीहरुले जनही रु १५ हजार पुरस्कार पाए । प्रतियोगिताको अनुशासित टोलीको पुरस्कार आयोजक आरएस पोखरा फुटबलले प्राप्त गर्‍यो ।

विजेता टोली तथा खेलाडीहरुलाई नेपाली सेनाको पश्चिम पृतना पोखराका पृतनापति उपरथी भोलानाथ थापा, गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ प्रहरी उपरीक्षक तुलबहादुर कार्कीलगायतले पुरस्कार वितरण गर्नुभएको थियो । यही वैशाख १८ गतेदेखि सुरु भएको प्रतियोगितामा पुलिस, आर्मीसँगै सङ्कटा र आयोजक आरएस पोखरा फुटबल क्लबको सहभागिता थियो ।

salt training

कमेन्ट गर्नुहोस्