
स्पेनिस ‘पावर हाउस’ बार्सिलोना यो सिजन ला लिगाको उपाधि जोगाउने अभियानमा छ । आफ्नो पछिल्लो खेलमा चिर प्रतिद्वन्द्वी रियल म्याड्रिडले स्पान्योललाई २–० गोलले हराएपछि बार्साको उपाधि यात्रा केही लम्बिएको हो ।
बार्सिलोनाले अब उपाधि जित्न कम्तीमा पनि एक साता प्रतीक्षा गर्नुपर्ने भएको छ । जारी सिजनको ला लिगामा यी दुवै टोलीले केवल चार/चार खेल खेल्न बाँकी रहँदा तालिकामा बार्सिलोना ११ अंकले अगाडि छ । पक्कै पनि आफ्नो निकटतम प्रतिद्वन्द्वीसँग यो ठूलो अन्तर हो ।
बार्साले ३४ खेलबाट ८८ अंक जोडेको छ भने रियलले समान खेलबाट ७७ अंक बटुलेको छ । बार्साले २९ खेलमा जित, एक खेलमा बराबरी र केवल चार खेलमा हारको नतिजा निकालेको छ । रियलले भने २४ खेलमा जित, पाँच खेलमा बराबरी र पाँच खेलमा जितको नतिजा निकालेको छ ।
हालसम्म बार्साले विपक्षीको पोष्टमा ८९ गोल गरेको छ भने ३१ गोल खाएको छ । अर्कोतिर, रियलले ७० गोल गरेको छ भने ३१ गोल खाएको छ । अन्य १८ टोलीले भने उपाधि जित्ने सम्भावना यसअघि नै समाप्त भइसकेको छ ।
यो सिजनको उपाधिसँग एउटा अर्को रमाइलो संयोग पनि जोडिएको छ । बार्साले ला लिगामा आफ्नो आगामी खेल मे ११ तारिखमा खेल्दैछ । त्यो भिडन्त ‘एल क्लासिको’ हो । अर्थात्, बार्सा र रियलबीचको बहुप्रतिक्षित भिडन्तले नै यो सिजनको उपाधिको छिनोफानो गर्ने बलियो सम्भावना छ ।
नोउ क्याम्पमा हुने उक्त खेलमा जित हात पारे बार्साले सजिलै उपाधि जित्नेछ । रियलविरुद्धको उक्त खेल बराबरीमा सकिए पनि उपाधि बार्साको पोल्टामा पर्नेछ । तर, उक्त खेलमा रियल विजयी भएमा बार्साको उपाधि यात्रा थप लम्बिने छ ।
उक्त खेलमा अर्को एउटा रमाइलो संयोग पनि जोडिएको छ । पछिल्लो ९७ वर्षयता ‘एल क्लासिको’ भिडन्तबाट ला लिगाको उपाधिको छिनोफानो भएको छैन । त्यसैले पनि आगामी ‘एल क्लासिको’ भिडन्त विश्वभरका फूटबलप्रेमीका लागि पनि प्रतीक्षाको विषय बनेको छ ।
बार्सासँग अर्को एउटा कीर्तिमान बनाउने अवसर पनि छ । सन् २०१२–१३ सिजनमा बार्साले रियललाई १५ अंकले पछि पार्दै उपाधि चुमेको थियो । यो सिजन त्योभन्दा पनि ठुलो अन्तरले उपाधि जितेर इतिहास रच्ने अवसर पनि छ, बार्सासँग ।
यसैगरी, बाँकी चारवटै खेलमा जित हात पारे बार्साको कुल अंक एक सय पुग्नेछ । यसअघि सन् २०११–१२ सिजनमा रियल म्याड्रिड र सन् २०१२–१३ सिजनमा बार्सिलोनाले एक सय अंक पुर्याउँदै ला लिगाको उपाधि चुमेका थिए ।
यसैगरी, बाँकी चारवटै खेलमा जित हासिल गरे यो सिजनको ला लिगामा बार्साको जित संख्या ३३ पुग्नेछ । यसअघि एकपटक मात्र बार्साले ३३ खेल जित्दै उपाधि आफ्नो पोल्टामा पारेको छ ।
ला लिगाको इतिहासमा सबैभन्दा बढी पटक उपाधि चुम्ने टोली भने रियल म्याड्रिड हो । रियलले हालसम्म ३६ पटक उपाधि कुम्ल्याएको छ । रियल २६ पटक उप–विजेतामा समेटिएको छ ।
दोस्रो स्थानमा आसीन बार्साले २८ पटक उपाधि जितेको छ भने २८ पटक उप–विजेता बनेको छ ।