२८ जेठ २०८३, बिहीबार

इसा अन्तर्राष्ट्रिय अवार्डको अन्तिम प्रतिस्पर्धामा छानिए गीतकार अधिकारी

बैशाख २१, २०८३
काठमाडौं
इसा अन्तर्राष्ट्रिय अवार्डको अन्तिम प्रतिस्पर्धामा छानिए गीतकार अधिकारी

 इन्टरनेशनल सिङ्गर सङ्गराइटर्स एसोसिएसन (इसा) ले हरेक वर्ष संयुक्त राज्य अमेरिकाको एटलान्टामा आयोजना गर्ने ‘इसा अन्तर्राष्ट्रिय अवार्ड’ को आठौँ संस्करणमा नेपालका चर्चित गीतकार लोकराज अधिकारी अन्तिम प्रतिस्पर्धाका लागि छानिएका छन् ।

आयोजकले सार्वजनिक गरेको ‘वर्षको अन्तर्राष्ट्रिय गीतकार (पुरुष)’ विधामा नेपाली गीतकार अधिकारीसहित विभिन्न देशका ४६ जना मनोनयनमा परेका थिए । अप्रिल महिनाभर भएको विद्युतीय मतदानका आधारमा उत्कृष्ट २० जना अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएको जानकारी आयोजकले मे १ मा दिएको हो ।

नेपाली गीतकार अधिकारीसँगै उक्त विधामा विदेशी नागरिकहरु आरोन हलिडे, एन्डी स्मिथ, क्रिस्टोफर ब्राउन, डानियल एगिन, डोनी भान्ट भेल्ड्ट, इमो लेब्ल्याङ्क, ह्यारी कप्पेन, हेनरी ट्रान, जेक डोलेरी, केलेन जेम्स, लुइस बारबोसा, महेश महादेव, नील फल्कनर, नाइज बी, रास्मस पेडरसन, रिक रीज, स्यामुएल जर्ज, टेरेन्स हार्ट र ह्वाइटी सोमर्स प्रतिस्पर्धामा छन् ।
गीतकार अधिकारीको यो लगातार तेस्रो पटकको मनोनयन हो । गत वर्ष पनि उनी अन्तिम प्रतिस्पर्धामा दुई विधाको ‘टप २०’ मा छनोट भएका थिए । यस वर्ष अधिकारीले चलचित्र ‘अन्जिला’ को “यो देशको झण्डा” बोलको गीत मार्फत अन्तर्राष्ट्रिय गीतकार (पुरुष) विधामा मनोनयनमा पर्दै फाइनलमा स्थान बनाएका हुन् ।

गत वर्ष नेपालबाट गीतकार अधिकारी ‘जिन्दगानी के छ र’ बोलको गीतबाट ‘वर्ष गीतकार पुरुष’ र ‘म्युजिक भिडिओ अफ द इयर’ गरी दुई विधामा मनोनयनमा परेका थिए । त्यस्तै, अवार्डको छैटौँ संस्करणमा उनी “यस्तो भाछ मलाई त” बोलको गीतबाट मनोनयनमा परेका थिए ।
आगामी अगस्ट २२ मा अमेरिकाको एटलान्टामा सम्पन्न हुने अवार्ड समारोहमा आयोजकले गीतकार अधिकारीलाई "रेड कार्पेट" मा निमन्त्रणा गरेको छ ।

 गीतकार अधिकारीले रचना गरेका ‘तिमीले पराई ठानेपछि’, ‘रुपै मोहनी’, ‘बाजा बजाउँदै’, ‘मर्छु बरु छट्पटीमा’, ‘हेप्नी मलाई हेप्नी’, ‘रुपौली रानी’ लगायतका दर्जनौँ गीतहरू लोकप्रिय छन् ।

salt training

कमेन्ट गर्नुहोस्