
रूपन्देहीका क्यासिनोमा प्रहरीले छापा मारेर १९ जना नेपालीलाई नियन्त्रणमा लिएको छ ।
भैरहवास्थित गौतमबुद्ध इन्टरनेसनल होटलमा (भैरहवा विमानस्थलबाट केही दुरीमा रहेको) सञ्चालित रोयल कालिङ्गा क्यासिनोमा प्रहरीले छापा मारेर क्यासिनोको म्यानेजरसहित १९ जना नेपाली नागरिकलाई नियन्त्रणमा लिएको हो ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको संयुक्त प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका–१० स्थित रहेको उक्त क्यासिनोमा चेकजाँच गर्दा जुवा खेल्ने र खेलाउने कार्यमा संलग्न १९ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दले जानकारी दिए ।
पक्राउ पर्नेमा रूपन्देही जिल्लाका १५ जना, काठमाडौं, ललितपुर, गुल्मी, पर्साका एक–एक जना रहेका छन् ।
पक्राउ परेकाहरूका साथबाट ९५ हजार ५ सय नेपाली रुपैयाँ, मोबाइल १७ थान, क्यासिनो क्वाइन २०० थान बरामद भएको चन्दले बताए ।
नेपालका क्यासिनो (जुवाघर) मा नेपालीलाई प्रवेशको अनुमति छैन ।