![सातै प्रदेशमा भेला गर्दै कांग्रेस, कुन मितिमा कहाँ ? [तालिकासहित]](https://lktcdn2.prixacdn.net/media/Gagan_Bishwa_HIHDxTI22D.jpg)
नेपाली कांग्रेसले देशका सातवटै प्रदेशमा प्रदेशस्तरीय भेला गर्ने भएको छ ।
बुधबार बसेको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको पहिलो बैठकले सातै प्रदेशमा ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला’ गर्ने निर्णय गरेको हो ।
जस अनुसार यही वैशाख २६ र २७ गते कैलालीको धनगढी, २८ र २९ गते सुर्खेतको लेकबेसी तथा वैशाख ३१ र जेठ १ गते कास्कीको पोखरामा भेला आयोजना हुनेछ ।
यसैगरी, जेठ ४ र ५ गते काभ्रेपलाञ्चोकको धुलिखेल, जेठ ६ र ७ गते महोत्तरीको बर्दिवास, जेठ ८ र ९ गते सुनसरीको लौकी र जेठ १४ र १५ गते रुपन्देहीको तिलोत्तमामा भेला हुने कांग्रेस केन्द्रीय कार्यालयका कार्यावाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
उनका अनुसार बुधबारको बैठकमा सभापति गगनकुमार थापाले प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्मालाई शपथ गराएका थिए ।
सभापति थापाले नवनियुक्त सदस्यहरूलाई बधाई एवं शुभकामना दिँदै प्रतिष्ठानको वैधानिकता, काम, कर्तव्य र अधिकारका विषयमा प्रष्ट पारेका थिए ।
त्यसैगरी, प्रतिष्ठानका प्रमुख शर्माले नवनियुक्त सदस्यहरूलाई शपथ गराएका थिए ।
बैठकले प्रतिष्ठानको उपप्रमुखमा मधु आचार्यलाई चयन गरेको छ ।
