२५ असार २०८३, बिहीबार
मध्यपूर्वमा शान्तिको संकेत

अमेरिका-इरान सहमति नजिक : १४ बुँदे समझदारी पत्र तयार, ४८ घण्टाभित्रै युद्ध समाप्त हुनसक्ने ट्रम्पको दाबी

बैशाख २४, २०८३
काठमाडौं
अमेरिका-इरान सहमति नजिक : १४ बुँदे समझदारी पत्र तयार, ४८ घण्टाभित्रै युद्ध समाप्त हुनसक्ने ट्रम्पको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध आगामी ४८ घण्टाभित्रै समाप्त हुन सक्ने संकेत दिएका छन् । ह्वाइट हाउसमा आयोजित एक कार्यक्रमका दौरान राष्ट्रपति ट्रम्पले विगत २४ घण्टामा इरानसँग धेरै राम्रो वार्ता भएको दाबी गरे । वार्ताले एउटा ऐतिहासिक सम्झौताको ढोका ढकढक्याइरहेको उनको भनाइ छ । 

अमेरिकी सञ्चारमाध्यम एक्सियोस र रोयटर्सका अनुसार दुई देशबीच १४ बुँदे समझदारी पत्र तयार भइसकेको छ । यो सम्झौताले केवल तत्कालीन युद्ध मात्र रोक्ने छैन, बरु वर्षौंदेखि बल्झिएको आणविक मुद्दा र होर्मुज जलमार्गको नाकाबन्दीलाई पनि नयाँ दिशा दिने विश्वास गरिएको छ।

प्रस्तावित १४ बुँदे मस्यौदाअनुसार, युद्ध अन्त्य पहिलो प्राथमिकतामा राखिएको छ। त्यसपछिको ३० दिनभित्र दुवै पक्ष इस्लामावाद वा जेनेभाजस्ता तटस्थ सहरहरूमा बसेर विस्तृत वार्तामा सहभागी हुनेछन् । 
इरानले आफ्नो आणविक कार्यक्रम अस्थायी रूपमा निलम्बन गर्नुपर्ने सर्त राखिएको छ भने बदलामा अमेरिकाले जफत गरेको अर्बौं डलरको इरानी सम्पत्ति फुकुवा गर्ने र बिस्तारै प्रतिबन्धहरू खुकुलो पार्ने आश्वासन दिएको छ ।

यद्यपि, मुख्य विवाद 'आणविक कार्यक्रम स्थगन'को अवधिमा देखिएको छ । इरान ५ वर्षको समयसीमामा अडिग छ भने अमेरिकाले २० वर्षको ग्यारेन्टी चाहेको छ । 

हाल मध्यमार्गी विकल्पको रूपमा १२ देखि १५ वर्षको अवधिमा छलफल केन्द्रित भएको स्रोतहरूको दाबी छ । राष्ट्रपति ट्रम्पले भनेका छन्, 'यो धेरै सरल छ। इरानसँग आणविक हतियार हुन सक्दैन किनभने तिनीहरू जतिसुकै कठोर भए पनि तिनीहरूलाई जीवित राख्न चाहन्छौं। हामी तपाईंहरू सबैलाई जीवित राख्न चाहन्छौं।'

वार्ताको टेबुलमा कूटनीति चलिरहँदा समुद्रमा भने तनाव कम भएको छैन । अमेरिकाले 'प्रोजेक्ट फ्रीडम' अन्तर्गत य"एसएस जर्ज एच.डब्ल्यू. बुश युद्धपोतलाई होर्मुजमा तैनाथ गरेको छ । ट्रम्पले अमेरिकी नौसेनाको प्रशंसा गर्दै यसलाई 'स्टिलको पर्खाल'को संज्ञा दिएका छन्, जसलाई पार गर्न इरानी जहाजहरूका लागि असम्भव रहेको उनको दाबी छ।

null

ट्रम्प सम्झौताप्रति जति आशावादी देखिन्छन्, तेहरानको स्वर भने केही फरक छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बगाईले सम्झौता नजिक पुगेको रिपोर्टहरूलाई अतिशयोक्तिपूर्ण भन्दै टिप्पणी गरेका छन् । इरानी सांसद इब्राहिम रेजाईले त अमेरिकी प्रस्तावलाई वास्तविकता भन्दा बढी अमेरिकी इच्छा सूची भनेर आलोचना गरेका छन्। 

उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'अमेरिकीहरूले युद्धमा केही पनि हासिल गर्नेछैनन्... यदि उनीहरूले आवश्यक छुट दिएनन् भने इरानको औंला ट्रिगरमै छ।'

आफ्नो चीन भ्रमणअगावै सम्झौता टुंग्याउन चाहेका ट्रम्पले चेतावनीको भाषा पनि प्रयोग गर्न छाडेका छैनन् । पीबीएससँगको कुराकानीमा उनले भनेका छन्, 'मलाई लाग्छ यो समाप्त हुने धेरै राम्रो मौका छ र यदि यो समाप्त भएन भने, हामीले तिनीहरूमाथि पूर्ण रूपमा बमबारी गर्न फर्कनु पर्छ।' उनले वार्ता विफल भएमा पहिलेभन्दा धेरै उच्च स्तर र तीव्रतामा सैन्य हमला शुरू गर्ने धम्की दिएका छन्।

संकटमा चीनको भूमिका पनि पेचिलो बन्दै गएको छ। चिनियाँ सरकारले आफ्ना कम्पनीहरूलाई विदेशी प्रतिबन्धहरू पालना गरेमा कारबाही गर्ने गरी नयाँ कानुन बनाएको छ, जसले सिधै अमेरिकी प्रतिबन्धलाई चुनौती दिएको छ। 
ट्रम्पले भने तेल बजारलाई स्थिर राख्न सेभरन र एक्सोनमोबिलजस्ता ठूला तेल कम्पनीका अधिकारीहरूसँग पनि छलफल शुरू गरेका छन्।

अहिले विश्वको नजर पाकिस्तानतर्फ सोझिएको छ, जहाँ मध्यस्थकर्ताहरूले इरानको औपचारिक प्रतिक्रियाको प्रतीक्षा गरिरहेका छन्। यदि बिहीबार इरानले सकारात्मक जवाफ दिएमा यो दशककै सबैभन्दा ठूलो कूटनीतिक सफलता हुन सक्छ। तर, यदि वार्ता भत्कियो भने मध्यपूर्व पुनः ठूलो युद्धको भुमरीमा फस्ने निश्चित छ।

इरान–अमेरिकाबीच फेरि वार्ता हुने खबर बाहिरिएसँगै विश्व बजारमा कच्चा तेलको भाउ घटेको छ ।

salt training

कमेन्ट गर्नुहोस्