
आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको आगामी शृंखलाका लागि खेलिएको अभ्यास खेलमा बिहीबार नेपाल ‘ए’ले भ्रमणकारी टोली स्कटल्यान्डलाई जीतका लागि दुई सय ७८ रनको लक्ष्य दिएको छ ।
मूलपानी क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपाल ‘ए’ले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ७७ रन बनाएको हो ।
नेपालका लागि देव खनालले उत्कृष्ट अर्धशतकीय पाली खेले । तेस्रो नम्बरमा क्रिज समाल्न आएका उनले ६३ रन बनाए । यसक्रममा उनले ६५ बलको सामना गरी एक छक्का र ६ चौका हिर्काए ।
ओपनर मायान यादवले पनि ४५ रन बनाए । उनले ८६ बलमा एक छक्का र पाँचवटा चौका प्रहार गरे । सन्दीप जोराले पनि ३६ बलमा एक छक्का र तीन चौकाको मद्दतले ३४ रन जोडे ।
पवन सर्राफले केवल १८ बलमा तीन छक्का र एक चौकाको मद्दतले ३१ रन बनाए ।
दीपक प्रसाद डुम्रेले पनि टोलीको खातामा अविजित २३ रन थपे । स्कटल्यान्डका बलर ब्राड्ली करी र सफयान सरिफले दुई–दुई विकेट लिए ।