
पोखरा विमानस्थल निर्माणमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
आयोगले बिहीबार उनीहरूविरुद्ध विशेष अदालतमा ठेक्का सम्झौताविपरीत कर छुट दिने निर्णय गरेर राज्यलाई हानिनोक्सानी पुर्याएको भन्दै आरोपपत्र दायर गरेको हो ।
उनीहरूविरुद्ध ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रूपैयाँ बिगो काम गरिएको विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन् ।
उक्त मुद्दामा तत्कालीन सचिवहरू शंकर प्रसाद अधिकारी, महेश्वर न्यौपाने, तत्कालीन सहसचिव सुरेश आचार्य, गण्डकी प्रदेशका तत्कालीन प्रमुख सचिव डन्डुराज घिमिरे, तत्कालीन सहचिव केवल प्रसाद भण्डारीलाई प्रतिवादी बनाइएको छ ।
यसैगरी, नागरिक उड्ड्यन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतम, तत्कालीन आयोजनाका निर्देशक प्रदीप अधिकारी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन इलेक्ट्रोनिक्सइन्जिनियरयोगेश अर्याल, अर्थ मन्त्रालयका तत्कालीन उपसचिव युगराज पाण्डे र तत्कालीन शाखा अधिकृत उर्मिला भण्डारीलाई प्रतिवादीका रूपमा प्रस्तुत गरिएको विशेषकी सूचना अधिकारी हितानले जानकारी दिइन् ।
निर्माण व्यवसायी चाइना सीएएमसी इन्जिनियरिङ को. लिमिटेड र सोका मुख्य भई काम गर्ने वाङ बो एवं प्रोजेक्ट म्यानेजर याङ झियाङविरुद्ध पनि मुद्दा दर्ता भएको छ ।