देशको संघीय राजधानी काठमाडौं पछिल्लो समय युवाको आवेगप्रेरित हिंसाको केन्द्र बन्दै गएको छ ।
सामान्य भनाभन, मोबाइलमा भएको गालीगलौज र क्षणिक रिसकै कारण ज्यान जानेसम्मका घटना सार्वजनिक हुन थालेपछि समाजको मनोविज्ञानमाथि गम्भीर प्रश्न उठेको छ ।
काठमाडौं केवल शहर मात्र नभई लाखौं युवाको सपना र भविष्य जोडिएको केन्द्र हो । तर, पछिल्ला घटनाले युवामा बढ्दो आक्रोश, हिंसात्मक प्रवृत्ति र ‘ग्याङ संस्कृति’प्रतिको आकर्षण चिन्ताको विषय बनेको देखिन्छ ।
काठमाडौंको कीर्तिपुरमा भएको घटनाले युवाबीचको सामान्य विवाद कसरी हिंसामा बदलिन सक्छ भन्ने देखाएको छ ।
गुल्मीको धुर्कोट गाउँपालिकाका विपिन घिमिरेमाथि तीन जनाको समूहले खुकुरी प्रहार गर्दा उनी गम्भीर घाइते भएका थिए । उपचारका लागि अस्पताल लगिए पनि उनको ज्यान जोगाउन सकिएन ।
प्रहरीका अनुसार घटनामा संलग्न व्यक्तिहरूको पहिचान भइसकेको छ र उनीहरूको खोजी भइरहेको छ । अनुसन्धानमा उनीहरू पहिले पनि आपराधिक गतिविधिमा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ ।
यस्तै, ललितपुरको ऐतिहासिक मंगलबजारस्थित कृष्ण मन्दिर अगाडि केही समयअघि भएको अर्को घटनाले पनि समाजलाई स्तब्ध बनाएको थियो । सुमित नेम्वाङ र उनका भाइ सृजन नेम्वाङको ज्यान जाने गरी भएको उक्त घटना कुनै योजनाबद्ध आपराधिक गतिविधिबाट शुरू भएको थिएन ।
प्रहरी अनुसन्धान अनुसार गलत नम्बरमा भएको फोन संवाद र गालीगलौजबाट शुरू भएको विवाद अन्तत: दुई जनाको मृत्युमा पुगेर टुंगिएको थियो ।
घटनाका मुख्य आरोपी सञ्जीव नेपालीले प्रहरीसमक्ष दिएको बयानमा फोनमा गाली गरेपछि आफू रिसाएको र सुरक्षाका लागि भन्दै फलामको नक तथा मासु काट्ने छुरा बोकेर पुगेको बताएका छन् ।
उनको बयानले युवामा बढ्दो आक्रोश, अहंकार र हिंसात्मक मानसिकता उजागर गरेको देखिन्छ ।
‘हामी डन हौँ’ भन्ने सोच र सामाजिक सञ्जालमा फैलिएको ‘ग्याङ कल्चर’ले धेरै युवाको सोचमा नकारात्मक प्रभाव पारिरहेको विश्लेषण गरिएको छ ।
मनोविद् गोपाल ढकालका अनुसार अहिलेका युवा अत्यधिक मानसिक दबाबमा छन् ।
बेरोजगारी, पारिवारिक तनाव, सामाजिक असन्तुलन तथा सामाजिक सञ्जालको नकारात्मक प्रभावले युवामा आक्रोश बढिरहेको उनको भनाइ छ ।
उनका अनुसार पहिले सामान्य विवाद शब्दमै सीमित हुने गरे पनि अहिले त्यसले छुरा, खुकुरी र समूहगत हिंसाको रूप लिन थालेको छ । लागुऔषध सेवन, मदिरा तथा अस्वस्थ मित्रताको प्रभावले युवाको निर्णय क्षमता कमजोर बन्दै गएको पनि उनले बताएका छन् । क्षणिक रिस र आवेगले जीवनभर पछुताउनुपर्ने अवस्था सिर्जना गरिरहेको उनको विश्लेषण छ ।
विशेषज्ञहरूले युवामा बढ्दो हिंसात्मक प्रवृत्ति रोक्न परिवार, समाज र राज्य सबै पक्ष जिम्मेवार हुनुपर्ने बताएका छन् ।
रिस नियन्त्रण गर्ने क्षमता विकास, परिवारभित्र संवाद बढाउने, सामाजिक सञ्जालमा देखाइने हिंसात्मक संस्कृति सामान्यीकरण नगर्ने तथा कानूनप्रति डर र सम्मान कायम गराउने विषयमा जोड दिइएको छ ।
सामान्य विवाद र क्षणिक आवेगकै कारण ज्यान जाने घटना बढ्दै जाँदा प्रश्न केवल प्रहरी प्रशासनको मात्र नभई समग्र समाजकै बन्न पुगेको छ ।
हेर्नुहोस्, भिडियो: