२१ जेठ २०८३, बिहीबार
आवेगजन्य घटनाको बढ्दो ग्राफ

युवामा बढ्दै डरलाग्दो मनोविज्ञान, आवेगप्रेरित घटनाले असुरक्षित बन्दै राजधानी

बैशाख २४, २०८३
काठमाडौं

देशको संघीय राजधानी काठमाडौं पछिल्लो समय युवाको आवेगप्रेरित हिंसाको केन्द्र बन्दै गएको छ ।

सामान्य भनाभन, मोबाइलमा भएको गालीगलौज र क्षणिक रिसकै कारण ज्यान जानेसम्मका घटना सार्वजनिक हुन थालेपछि समाजको मनोविज्ञानमाथि गम्भीर प्रश्न उठेको छ ।

काठमाडौं केवल शहर मात्र नभई लाखौं युवाको सपना र भविष्य जोडिएको केन्द्र हो । तर, पछिल्ला घटनाले युवामा बढ्दो आक्रोश, हिंसात्मक प्रवृत्ति र ‘ग्याङ संस्कृति’प्रतिको आकर्षण चिन्ताको विषय बनेको देखिन्छ ।

काठमाडौंको कीर्तिपुरमा भएको घटनाले युवाबीचको सामान्य विवाद कसरी हिंसामा बदलिन सक्छ भन्ने देखाएको छ ।

गुल्मीको धुर्कोट गाउँपालिकाका विपिन घिमिरेमाथि तीन जनाको समूहले खुकुरी प्रहार गर्दा उनी गम्भीर घाइते भएका थिए । उपचारका लागि अस्पताल लगिए पनि उनको ज्यान जोगाउन सकिएन ।

प्रहरीका अनुसार घटनामा संलग्न व्यक्तिहरूको पहिचान भइसकेको छ र उनीहरूको खोजी भइरहेको छ । अनुसन्धानमा उनीहरू पहिले पनि आपराधिक गतिविधिमा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ ।

यस्तै, ललितपुरको ऐतिहासिक मंगलबजारस्थित कृष्ण मन्दिर अगाडि केही समयअघि भएको अर्को घटनाले पनि समाजलाई स्तब्ध बनाएको थियो । सुमित नेम्वाङ र उनका भाइ सृजन नेम्वाङको ज्यान जाने गरी भएको उक्त घटना कुनै योजनाबद्ध आपराधिक गतिविधिबाट शुरू भएको थिएन ।

प्रहरी अनुसन्धान अनुसार गलत नम्बरमा भएको फोन संवाद र गालीगलौजबाट शुरू भएको विवाद अन्तत: दुई जनाको मृत्युमा पुगेर टुंगिएको थियो ।

घटनाका मुख्य आरोपी सञ्जीव नेपालीले प्रहरीसमक्ष दिएको बयानमा फोनमा गाली गरेपछि आफू रिसाएको र सुरक्षाका लागि भन्दै फलामको नक तथा मासु काट्ने छुरा बोकेर पुगेको बताएका छन् ।

उनको बयानले युवामा बढ्दो आक्रोश, अहंकार र हिंसात्मक मानसिकता उजागर गरेको देखिन्छ ।

‘हामी डन हौँ’ भन्ने सोच र सामाजिक सञ्जालमा फैलिएको ‘ग्याङ कल्चर’ले धेरै युवाको सोचमा नकारात्मक प्रभाव पारिरहेको विश्लेषण गरिएको छ ।

मनोविद् गोपाल ढकालका अनुसार अहिलेका युवा अत्यधिक मानसिक दबाबमा छन् ।

बेरोजगारी, पारिवारिक तनाव, सामाजिक असन्तुलन तथा सामाजिक सञ्जालको नकारात्मक प्रभावले युवामा आक्रोश बढिरहेको उनको भनाइ छ ।

उनका अनुसार पहिले सामान्य विवाद शब्दमै सीमित हुने गरे पनि अहिले त्यसले छुरा, खुकुरी र समूहगत हिंसाको रूप लिन थालेको छ । लागुऔषध सेवन, मदिरा तथा अस्वस्थ मित्रताको प्रभावले युवाको निर्णय क्षमता कमजोर बन्दै गएको पनि उनले बताएका छन् । क्षणिक रिस र आवेगले जीवनभर पछुताउनुपर्ने अवस्था सिर्जना गरिरहेको उनको विश्लेषण छ ।

विशेषज्ञहरूले युवामा बढ्दो हिंसात्मक प्रवृत्ति रोक्न परिवार, समाज र राज्य सबै पक्ष जिम्मेवार हुनुपर्ने बताएका छन् ।

रिस नियन्त्रण गर्ने क्षमता विकास, परिवारभित्र संवाद बढाउने, सामाजिक सञ्जालमा देखाइने हिंसात्मक संस्कृति सामान्यीकरण नगर्ने तथा कानूनप्रति डर र सम्मान कायम गराउने विषयमा जोड दिइएको छ ।

सामान्य विवाद र क्षणिक आवेगकै कारण ज्यान जाने घटना बढ्दै जाँदा प्रश्न केवल प्रहरी प्रशासनको मात्र नभई समग्र समाजकै बन्न पुगेको छ ।

हेर्नुहोस्, भिडियो:

salt training

कमेन्ट गर्नुहोस्