
लक्ष्मी सनराइज बैंकले विश्व बैंक समूहअन्तर्गतको निजी क्षेत्रीय इन्टरनेशनल फाइनान्स कर्पोरेसन (आईएफसी)सँग सहकार्य गरेको छ ।
बैंकले बैंकिङ अन ओमन (बीओडब्लू) पहलअन्तर्गत Global WMSME Sex Disaggregated Data (SDD) सहकार्य सम्झौता गरेको हो ।
उक्त कार्यक्रमलाई महिला उद्यमशीलता प्रवर्द्धनका लागि स्थापित बहुपक्षीय अन्तर्राष्ट्रिय पहल Women Entrepreneurs Finance Initiative (We-Fi) ले सहयोग गरिरहेको छ ।
We-Fi विश्वभरका महिला नेतृत्व तथा स्वामित्व भएका साना तथा मझौला उद्यममा लगानी तथा वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले स्थापना गरिएको बहुदातृ अन्तर्राष्ट्रिय प्लेटफर्म हो ।
यस अन्तर्गत सञ्चालन हुने Women Entrepreneurs Finance Code (the WE-Finance Code) वित्तीय संस्था, नियामक निकाय तथा वित्तीय प्रणालीसँग आबद्ध सरोकारवालाबीचको साझा प्रतिबद्धता हो, जसले महिला उद्यमीलाई आवश्यक वित्तीय स्रोत उपलब्ध गराई आर्थिक वृद्धि र रोजगारी सिर्जनामा योगदान पुर्याउने लक्ष्य राख्छ ।
यस सम्बन्धी सम्झौतामा लक्ष्मी सनराइज बैंकका तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुमेद भट्टराई तथा आईएफसीका दक्षिण एसियाका क्षेत्रीय प्रबन्धक मेहदी चेरकाउईले हस्ताक्षर गरेका छन् ।
यस सहकार्य अन्तर्गत आईएफसीले बैंकलाई लैङ्गिक आधारमा विभाजित तथ्यांकको संकलन, विश्लेषण तथा उपयोग प्रक्रिया सुदृढ बनाउन सहयोग गर्नेछ ।
यसले महिलाको स्वामित्वमा रहेका साना तथा मझौला उद्यमहरूका आवश्यकता, चुनौती तथा अवसरबारे बुझाइको विकास गर्न मद्दत गर्नेछ । यसका आधारमा बैंकले महिला उद्यमीका लागि अझ प्रभावकारी तथा उपयुक्त वित्तीय समाधान विकास गर्न सक्नेछ ।
यो सहकार्यले जिम्मेवार बैंकिङ अभ्यासप्रति लक्ष्मी सनराइज बैंकको प्रतिबद्धतालाई थप मजबुत बनाएको बैंकले जनाएको छ । बैंकले यस साझेदारीमार्फत महिला उद्यमशीलता प्रवर्द्धन तथा समावेशी आर्थिक विकासमा अर्थपूर्ण योगदान पुर्याउने अपेक्षा राखेको छ ।