१६ असार २०८३, मंगलबार

मसानघाटबाट मृतकका लुगा चोरी गरी बजारमा बिक्री

बैशाख २५, २०८३
काठमाडौं
मसानघाटबाट मृतकका लुगा चोरी गरी बजारमा बिक्री
फाइल तस्वीर

भारतको इन्दोरमा एउटा यस्तो सनसनीपूर्ण र डरलाग्दो व्यापारको खुलासा भएको छ, जसले मानवता र सामाजिक संवेदनामाथि नै गम्भीर प्रश्न खडा गरिदिएको छ। 

शहरका विभिन्न मुक्तिधाम तथा मसानघाट घाटहरूमा अन्तिम संस्कारका लागि ल्याइएका शवहरूबाट निकालिएका लुगा र कात्रोहरू चोरी गरेर पुनः बजारमा नयाँजस्तै बनाएर बिक्री गर्ने गरिएको तथ्य फेला परेको हो । दैनिक भास्करको विशेष रिपोर्टअनुसार, यो अवैध धन्दामा एउटा ठूलो गिरोह नै सक्रिय रहेको छ, जसले मानिसहरूको भावना र स्वास्थ्यसँग खेलबाड गरिरहेको छ।

घटनाको प्रकृति हेर्दा, शवलाई चितामा राख्नुअघि वा अन्तिम संस्कारका क्रममा मृतकको शरीरबाट निकालिएका महँगा सुट, साडी, ज्याकेट, तन्ना र ओढाइएका नयाँ कात्रोहरूलाई घाटमा बस्ने केही व्यक्तिहरूले संकलन गर्ने गर्छन् । ती संकलित लुगाहरूलाई सरसफाइ गर्ने ठाउँमा पुर्‍याई राम्रोसँग धोइपखाली र इस्त्री (प्रेस) गरिन्छ। 

यसरी नयाँजस्तै बनाइएका यी लुगाहरूलाई इन्दोरको स्थानीय शनिबारी बजारजस्ता सस्तो बजारहरूमा लगेर नयाँ प्याकिङमा बिक्रीका लागि राखिन्छ । सामान्यतया बजारमा हजारौँ मूल्य पर्ने राम्रा लुगाहरू यहाँ मात्र ५० देखि २०० रुपैयाँसम्ममा बिक्री हुने गरेको रिपोर्टमा उल्लेख छ, जसका कारण विपन्न वर्गका मानिसहरू सस्तो पाउने लोभमा सजिलै यसको सिकार हुने गरेका छन्।

चिकित्सकीय दृष्टिकोणले यो कार्य अत्यन्तै जोखिमपूर्ण मानिएको छ। स्वास्थ्य विशेषज्ञहरूका अनुसार मृतकको शरीरमा भएका जीवाणु वा कुनै संक्रामक रोग लुगामार्फत जीवित व्यक्तिमा सर्न सक्छ, जसले गर्दा गम्भीर किसिमको संक्रमण वा छालाको रोग लाग्न सक्ने उच्च सम्भावना रहन्छ। 

धार्मिक र सामाजिक मान्यता अनुसार पनि मृतकका लुगाहरू यसरी प्रयोग गर्नु वा व्यापार गर्नुलाई निकै अशुभ र वर्जित मानिन्छ।


 

salt training

कमेन्ट गर्नुहोस्