
नेपालको प्रविधि कम्पनी टिङटिङले श्रीलंकामा आफ्नो सेवा विस्तार गरेको छ। यसअन्तर्गत कम्पनीले श्रीलंकाको इफेक्टिभ सोलुसन्ससँग व्यावसायिक सञ्चार प्रणालीमा आधारित एआई सेवाका लागि सम्झौता गरेको हो।
इफेक्टिभ सोलुसन्सले व्यवसाय, उद्यम तथा सार्वजनिक सेवामा आधुनिक प्रविधि प्रयोग गर्न चाहने ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ। यो कम्पनी श्रीलंकाको सार्वजनिक संस्था TRACE मा सूचीकृत छ, जसले नयाँ व्यवसाय, नवप्रवर्तन र उद्यमशीलता प्रवर्द्धनमा सहयोग पुर्याउँछ।
टिङटिङले श्रीलंकामा कार्यालय स्थापना गर्ने तयारीसहित त्यहाँका ग्राहकलाई प्रत्यक्ष सेवा दिने योजना अघि बढाइसकेको छ। यसअघि कम्पनीले नेपालमा बैंक, बीमा कम्पनी, इन्टरनेट सेवा प्रदायक, सरकारी निकाय तथा विभिन्न संघ–संस्थासँग सहकार्य गर्दै आएको छ।
टिङटिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनिष शर्माले नेपालबाट प्रविधि निर्यात गर्ने सरकारी लक्ष्यअनुसार कम्पनी अघि बढिरहेको बताए। उनले भने, “हामी विश्वव्यापी विस्तारको योजनामा छौं। यो सोही अभियानको एक महत्वपूर्ण चरण हो। सरकारले आईटी तथा प्रविधि सेवा निर्यातलाई प्राथमिकतामा राखेको छ। नेपालको प्रतिनिधित्व गर्दै सेवा विस्तार गर्न पाउनु हाम्रो लागि गर्वको विषय हो।”

उनका अनुसार नेपालमा रोजगारी सिर्जनाका लागि आईटी तथा प्रविधि क्षेत्रको विस्तार अत्यावश्यक छ।
त्यस्तै, इफेक्टिभ सोलुसन्सका निर्देशक हमिन्दा जयवेराले एआई–आधारित सेवा तथा समाधान प्रदान गर्ने नेपाली कम्पनीसँग सहकार्य गर्न पाउनु खुसीको विषय भएको बताए।
उनका अनुसार यस सहकार्यले श्रीलंकाका उद्यमी तथा सेवा प्रदायकहरूलाई उल्लेखनीय लाभ पुग्नेछ।
हाल श्रीलंकामा धेरै व्यवसायहरूले ग्राहकसँग टेलिफोन, एसएमएस, सामाजिक सञ्जाल, इमेल, वेब च्याट तथा कल सेन्टरमार्फत छुट्टाछुट्टै रूपमा सम्पर्क गर्दै आएका छन्। यसका कारण सन्देश हराउने, प्रतिक्रिया ढिलो हुने, ग्राहक सन्दर्भ ट्र्याक गर्न कठिन हुने तथा सेवा गुणस्तर मापनमा समस्या देखिँदै आएको छ।
यी समस्याहरू समाधान गर्न टिङटिङले आफ्नो एआई–सञ्चालित एकीकृत सञ्चार प्रणाली श्रीलंकामा विस्तार गरेको हो।
यसअन्तर्गत TingTing Call Broadcast, TingTing Text, TingTing Forms, TingTing Agents, TingTing Omni र TingTing Connect जस्ता सेवा समावेश छन्।
यी प्रणालीहरूले ग्राहक सम्पर्क, प्रतिक्रिया सङ्कलन, बहु–माध्यमीय संवाद व्यवस्थापन तथा कल सेन्टर सञ्चालनलाई एकीकृत रूपमा सञ्चालन गर्न सहयोग पुर्याउँछन्।
यस प्रणालीमार्फत प्रत्येक कलको अभिलेख, प्रतिलिपि (ट्रान्सक्रिप्ट), भावना विश्लेषण, एआई–आधारित सारांश, प्रत्यक्ष ड्यासबोर्ड तथा सम्पूर्ण संवादको स्पष्ट दृश्यता प्राप्त गर्न सकिन्छ। यसले व्यवस्थापन टोलीलाई ग्राहक धारणा, सेवा प्रभावकारिता तथा सुधार आवश्यक क्षेत्र पहिचान गर्न सहयोग पुर्याउँछ।
व्यावसायिक सञ्चारलाई सरल, एकीकृत र प्रभावकारी बनाउने लक्ष्यका साथ टिङटिङले काम गरिरहेको छ। यसअघि कम्पनीले वेभ समिट कतार २०२६ मा नेपालको प्रतिनिधित्व गर्दै आफ्नो प्रविधि अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरेको थियो। श्रीलंकामा सेवा विस्तारसँगै “नेपालमा बनेको, विश्वका लागि” भन्ने अवधारणा थप सशक्त बनेको कम्पनीले जनाएको छ।