३० जेठ २०८३, शनिबार
अन्तर्वार्ता

यो सरकारले नेपाली खेलकुदको ‘लुतो’ फाल्नुपर्छ– दीपक विष्ट [भिडियो]

‘खेलकुद बजेट फ्रिज भएर जान्छ, तर खेलाडीको प्रशिक्षणमा प्रयोग गरिँदैन’
बैशाख २५, २०८३
काठमाडौं

यतिबेला नेपाली खेलकुद अन्यौलपूर्ण मोडमा उभिएको छ । छुट्टै अस्तित्वमा रहेको युवा तथा खेलकुद मन्त्रालय शिक्षा मन्त्रालयमा औपचारिक रूपमै गाभिने चर्चा छ ।

लामो समयदेखि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले प्रक्रियागत रूपमा सदस्यसचिव पाउन सकेको छैन ।

सरकारले सबै पदाधिकारीलाई एउटै निर्णयबाट पदमुक्त गरेपछि राखेप बोर्ड पनि सदस्यविहीन अवस्थामा छ । अर्कोतिर, राखेपको संरचनागत सुधारको कुरा पनि चर्को रूपमा उठिरहेको छ ।

खेल संघहरूभित्र पनि व्यापक विवाद देखिन्छ । सरकार र संघका पदाधिकारीबीच देखिएको विवादका कारण सर्वाधिक लोकप्रिय खेल फूटबल निलम्बनको संघारमा उभिएको छ । विवादकै कारण महिला फूटबल खेलाडीले त अन्तर्राष्ट्रिय प्रतियोगिता नै गुमाउनुपर्ने विडम्बनापूर्ण अवस्था आयो ।

देशभित्र नियमित रूपमा प्रतियोगिताहरू आयोजना हुन सकिरहेको छैन । घरेलु खेलकुदको मेरुदण्डका रुपमा रहेको वृहत् राष्ट्रिय खेलकुदको १०औँ संस्करण पनि विभिन्न बहानामा पटक–पटक स्थगित हुँदै आएको छ ।

ऐतिहासिक उपलब्धि पछ्याउने लक्ष्य राखिएको २०औँ एसियाली खेलकुद आउन करिब चार महिना बाँकी छ । तर, नेपालबाट कुन–कुन खेलमा कति खेलाडीले भाग लिने टुङ्गो लाग्न सकेको छैन । बजेट अभावका कारण खेलाडीको प्रशिक्षणसमेत प्रभावित भएको गुनासो पनि उत्तिकै छ ।

नेपाली खेलकुदसँग जोडिएका यिनै समसामयिक विषयमा केन्द्रित रहेर लोकान्तरले तेक्वान्दोका कीर्तिमानी खेलाडी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका पूर्वअध्यक्ष एवं नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक बिष्टसँग कुराकानी गरेको छ ।

विष्ट नेपाली खेलकुदको सर्वाधिक सफल खेलाडीमध्ये एक हुन् । तेक्वान्दो खेलाडी विष्टले दक्षिण एसियाली खेलकुदमा कीर्तिमानी रूपमा लगातार चारवटा स्वर्ण पदक जितेर इतिहास रचेका छन् । उनी एसियाली खेलकुदमा दुईवटा कांस्य जित्ने खेलाडी पनि हुन् ।

यसैगरी, विष्ट छनोट चरण पार गर्दै ओलम्पिक खेल्ने पहिलो नेपाली पुरुष खेलाडी पनि हुन् । सुदूरपश्चिमको कञ्चनपुरमा जन्मिएका विष्ट पहिले खेलाडीको भूमिकामा, त्यसपछि प्रशिक्षकको भूमिकामा र यतिबेला प्रशासकको भूमिकामा सक्रिय रहँदै नेपाली खेलकुदको श्रीवृिद्धमा क्रियाशील छन् ।

४९ वर्षीय विष्ट सरकारले आगामी एसियाली खेलकुदलाई ध्यानमा राखी अघि सारेको महत्त्वाकांक्षी योजना मिसन–२०२६ को प्रमुख पनि हुन् । राखेपअन्तर्गत राष्ट्रिय टीम तयारीका निर्देशक विष्टसँग हामीले नेपाली खेलकुदसँग जोडिएका विभिन्न पक्षको बारेमा प्रश्न गरेका थियौँ ।

कुराकानीका क्रममा हामीले विष्टसँग नेपाली खेलकुदको वर्तमान अवस्था, खेलकुदमा राजनीतिक हस्तक्षेपको अवस्था, ओलम्पिक कमिटीसँगै खेल संघहरूभित्र देखिएको विवाद र त्यसको निराकरणको उपाय, विवादले खेलाडीको मनोविज्ञानमा पार्ने असरजस्ता विषयमा प्रश्न गरेका थियौँ । 

यसैगरी, हामीले खेलाडी संघको भूमिका, खेल क्षेत्रको सुधारका लागि वर्तमान सारकारले चाल्नु पर्ने कदम, आगामी एसियाली खेलकुदका लागि नेपालको तयारी, लामो समयसम्म वृहत् राष्ट्रिय खेलकुद नहुँदा प्रतिभाशाली खेलाडी उत्पादनमा परेको प्रभावजस्ता विषयमा पनि प्रश्न गरेका थियौँ ।

दीपक विष्टका भनाइ हाइलाइट्स:

० यो सरकारले नेपाली खेलकुदको ‘लुतो’ फाल्नु पर्छ ।

० खेल पदाधिकारीहरूको ‘स्वार्थ’ नै विवादको मुख्य जड हो ।

० खेलकुद मन्त्रालय र खेलकुद परिषदबीच नै राम्रो सम्बन्ध छैन ।

० मलाई तेक्वान्दोले मान–सम्मानसँगै जीवनसाथी पनि दियो, छोराहरू पनि यही खेलमा सक्रिय छन् ।

० खेलकुदको बजेट फ्रिज भएर जान्छ, तर खेलाडीको प्रशिक्षणमा प्रयोग गरिँदैन ।

प्रस्तुत छ, विष्टसँग गरिएको कुराकानीको सम्पादित अंश :

salt training

कमेन्ट गर्नुहोस्