
नेपाल प्रकृतिले उदारतापूर्वक वरदान प्रदान गरेको एक अनुपम भूमि हो । हिमाल, पहाड र तराईको त्रिवेणीको मिलनले नेपालमा अद्वितीय भौगोलिक संरचना निर्माण गरेको छ ।
उत्तरतर्फ आकाश छुने हिमश्रृंखला, मध्यभागका हरियो पहाडी भू-भाग तथा दक्षिणका उर्बर मैदानहरूले नेपालको भूगोललाई विविधतामय मात्र नभई जीवन्त बनाएका छन् । यहाँको जैविक विविधता, जलवायुको परिवर्तनशीलता, वनस्पति र जीवजन्तुको समृद्ध उपस्थिति विश्वमै दुर्लभ मानिन्छ ।
प्रकृतिको यो समृद्धि केवल सौन्दर्यको विषय मात्र होइन; यसले यहाँका नागरिकको जीवनशैली, संस्कृति र अर्थतन्त्रलाई समेत गहिरो रूपमा प्रभाव पार्दछ । हिमालको सुन्दरता, पहाडको हरियाली र तराईको उर्बरता मिलेर नेपाललाई प्राकृतिक स्वर्गको रूपमा स्थापित गरेको छ ।
विदेशमा रहेका नेपालीका लागि यो भूमि केवल जन्मभूमि मात्र नभई आत्माको आधार हो । संसारका विकसित मुलुकमा बसोबास गरे पनि नेपालका डाँडाकाँडा, खोला नाला र हिमालको सम्झना उनीहरूको मनमा गहिरो रूपमा अंकित हुन्छ । नेपालको प्राकृतिक सुन्दरता केवल आँखाले देखिने दृश्य होइन; यो हृदयले महसुस गर्ने अनुभूति हो ।
नेपालको भौगोलिक विविधता र प्राकृतिक सुन्दरता विश्वमञ्चमा सकारात्मक रूपमा प्रस्तुत गर्नु आजको आवश्यकता हो । यसले विदेशमा रहेका नेपालीहरूमा गौरव र स्वदेश फर्कने चाहनालाई थप प्रगाढ बनाउँछ ।
नेपाल बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय समाजको उत्कृष्ट उदाहरण हो । जहाँ विभिन्न भाषा, परम्परा, रीतिरिवाज र जीवनशैलीको सहअस्तित्व पाइन् छ। यहाँ बोलिने सयौं भाषा र मनाइने विविध चाडपर्वले नेपालको सांस्कृतिक धरोहरलाई विश्वमै विशिष्ट बनाएको छ ।
सामाजिक संरचनामा विविधता हुँदाहुँदै पनि नेपाली समाजमा एकता, सहिष्णुता र सहअस्तित्वको भावना गहिरो रूपमा स्थापित छ । विभिन्न जाति, समुदाय र धर्मका मानिस आपसी सम्मानका साथ सहजीवन बिताइरहेका छन्, जुन विश्वका लागि अनुकरणीय उदाहरण हो ।
विदेशमा रहेका नेपालीले पनि आफ्नो भाषा, संस्कृति र परम्परालाई जोगाएर राखेका छन्, जसले उनीहरूलाई आफ्नो पहिचानसँग जोडेर राख्छ । नेपाली गीत, नृत्य, पर्व र संस्कार विदेशमा पनि उत्तिकै उत्साहका साथ मनाइन्छन् ।

यस विविधतामा निहित एकता नै नेपालको वास्तविक शक्ति हो । यदि यसलाई सकारात्मक रूपमा प्रचार प्रसार गर्न सकियो भने विदेशमा रहेका नेपालीहरूमा आफ्नो मौलिक पहिचानप्रति गर्व र स्वदेशसँगको भावनात्मक सम्बन्ध अझ मजबुत हुनेछ ।
नेपाल विभिन्न जातजातिहरूको साझा घर हो । जहाँ प्रत्येक जातिको आफ्नै मौलिक संस्कृति, परम्परा र जीवनशैली रहेको छ । उदाहरणका लागि ब्राह्मण, क्षेत्री, मगर, भुजेल, गुरुङ, नेवार, थारू, लिम्बू, तामाङ, राई लगायतका समुदायले नेपालको सामाजिक संरचनालाई समृद्ध बनाएका छन् ।
प्रत्येक जातिको आफ्नै भाषा, भेषभूषा, खानपान र संस्कार छन् । जसले नेपालको सांस्कृतिक विविधतालाई अझ गहिरो र रोचक बनाउँछ । यिनै विविधताले नेपाललाई सानो संसारभित्रको एउटा ठूलो संसार बनाएको छ ।
विदेशमा रहेका नेपालीका लागि यो जातीय विविधता आफ्नो पहिचानको अभिन्न अङ्ग हो । उनीहरूले आफ्नो जातीय संस्कृति र परम्परालाई जोगाएर राख्दा उनीहरूमा नेपालको माटोसँगको सम्बन्ध अझ सुदृढ हुन्छ । यस विविधतालाई विभाजनको रूपमा नभई एकताको प्रतीकका रूपमा बुझ्नु आवश्यक छ । जब हामी सबै नेपाली एउटै राष्ट्रको नागरिक भएको भावना राख्छौं तब जातीय विविधता हाम्रो शक्ति बन्छ; कमजोरी होइन ।
नेपाल धार्मिक सहिष्णुता र समन्वयको उत्कृष्ट उदाहरण हो । यहाँ हिन्दू, बौद्ध, मुस्लिम, किराँत, इसाई लगायतका विभिन्न धर्मावलम्बी आपसी सम्मानका साथ बसोबास गर्छन् । यहाँका मन्दिर, गुम्बा, मस्जिद र चर्चहरू केवल पूजा स्थल मात्र होइनन्, ती आपसी सद्भाव र सहिष्णुताका प्रतीक पनि हुन् । एउटै समाजमा विभिन्न धर्मका मानिस मिलेर चाडपर्व मनाउने परम्परा नेपालमा विशेष रूपमा पाइन्छ ।
विदेशमा रहेका नेपालीहरूले पनि यही सहिष्णुता र सद्भावको सन्देश विश्वभर फैलाइरहेका छन् । उनीहरूका लागि धर्म केवल आस्था मात्र नभई संस्कृतिको अभिन्न अङ्ग हो । यस धार्मिक विविधतालाई सकारात्मक रूपमा प्रस्तुत गर्दा, नेपाल विश्वमा शान्ति, सहिष्णुता र सहअस्तित्वको केन्द्रका रूपमा स्थापित हुन सक्छ, जसले विदेशमा रहेका नेपालीमा गर्वको अनुभूति गराउँछ ।
नेपालको संविधानले देशको विविधतालाई सम्मान गर्दै सबै नागरिकलाई समान अधिकार प्रदान गरेको छ । मौलिक हक समावेशी नीति र समान अवसरका सिद्धान्तहरूले राष्ट्रलाई लोकतान्त्रिक र समावेशी बनाएका छन् । संविधानले भाषा, संस्कृति, धर्म र जातीय पहिचानको संरक्षण गर्न विशेष व्यवस्था गरेको छ जसले देशको विविधतालाई सुरक्षित राख्न मद्दत गर्दछ । विदेशमा रहेका नेपालीहरूका लागि यो संवैधानिक संरचना आशाको किरण हो । यसले उनीहरूलाई आफ्नो देशमा न्याय, समानता र अवसरको सुनिश्चितता भएको विश्वास दिलाउँछ । यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै सकारात्मक सन्देश प्रवाह गर्न सके, विदेशमा रहेका नेपालीहरूमा स्वदेशप्रति विश्वास र आकर्षण अझ बढ्नेछ ।

नेपालीहरूको सरलता, आतिथ्य सत्कार र दयालु स्वभाव विश्वभर चर्चित छ । यहाँका मानिसहरू अतिथि देवो भवः को भावनामा विश्वास गर्छन् । यसले नेपाललाई केवल भौगोलिक देश मात्र नभई भावनात्मक घर बनाउँछ । विदेशमा रहेका नेपालीहरू पनि यही मानवीय मूल्यहरूलाई साथमा लिएर हिँडिरहेका छन् । यसले उनीहरूको पहिचानलाई विशिष्ट बनाएको छ । मानवीय सम्बन्ध, सहयोग र सहानुभूति नै नेपाली समाजको वास्तविक शक्ति हो । यसले सबैलाई जोडेर राख्छ ।
नेपालमा पछिल्लो समय राजनीतिक स्थायित्व र प्रशासनिक सुधारका प्रयास तीव्र रूपमा अघि बढिरहेका छन् । सुशासन, पारदर्शिता र उत्तरदायित्वका सिद्धान्तलाई संस्थागत गर्ने प्रयास भइरहेको छ । यस्ता सुधारले देशलाई विकास र समृद्धिको मार्गमा अघि बढाउन सहयोग पुर्याउँछ । विदेशमा रहेका नेपालीका लागि यी परिवर्तन आशा र विश्वासका संकेत हुन् । विदेशमा रहेका केही नेपालीबाट गरिएका नकारात्मक टिप्पणी तथा अनलाइन मिडियामा प्रसारित भ्रामक समाचारले आफ्नो राष्ट्रको छवि कमजोर बनाउन सक्छ । यस्ता गतिविधिले केवल देशको प्रतिष्ठामा असर गर्दैनन्, विदेशमा रहेका नेपालीको मनोबल पनि कमजोर बनाउँछ । यसकारण, तथ्यमा आधारित, सकारात्मक र जिम्मेवार सञ्चार अत्यावश्यक हुन्छ ।
यदि आमसञ्चारमाध्यम र सामाजिक सञ्जाललाई जिम्मेवार ढंगले प्रयोग गर्दै नेपालको सकारात्मक पक्ष मात्रै प्रवाह गर्न सकियो भने यसले विदेशमा रहेका नेपालीमा स्वदेशप्रति सम्मान, आस्था र विश्वास अभिवृद्धि गर्नेछ । यसले उनीहरूमा ‘नेपाल फर्कने’ भावनालाई जागृत मात्र होइन सशक्त बनाउनेछ । सकारात्मक सोच, सत्य सूचना र राष्ट्रप्रेमयुक्त अभिव्यक्तिले नै नेपाललाई विश्वमञ्चमा गौरवपूर्ण स्थानमा स्थापित गर्न सक्छ ।
नेपालमा देखिएका वर्तमान सकारात्मक परिवर्तन, राजनीतिक स्थायित्वतर्फ उन्मुख प्रयास तथा प्रशासनिक सुधारका प्रक्रियाले मेरो अन्तर्मनमा स्वदेश फर्किने दृढ प्रेरणा उत्पन्न गरेको छ । आफ्नो सीप, कला र क्षमताको सदुपयोग गर्दै नेपालमै रोजगारी सिर्जना गरी राष्ट्र निर्माणमा योगदान पुर्याउने भावनाले पछिल्लो समय गहिरो रूपमा जरा गाड्दै गएको छ ।
म नेपालबाट क्यानडा आएको करिब नौ वर्ष व्यतीत भइसकेको छ । हाल म यहाँ रेस्टुरेन्ट व्यवसायमा संलग्न छु । तथापि, भौगोलिक दूरीका बाबजुद मेरो मन, भावना र आत्मा सधैँ आफ्नो मातृभूमि नेपालमै केन्द्रित रहेको अनुभूति हुन्छ ।
म क्यानडा आएको करिब नौ वर्षपछि सन् २०२६ जनवरी ३१ मा स्वदेश फर्की मार्च ९ सम्मको बसाइँका क्रममा नेपालको आर्थिक सामाजिक परिवेशमा आएको परिवर्तनलाई नजिकबाट अवलोकन गर्ने अवसर प्राप्त भयो । यस अवधिमा राजधानीसहित विभिन्न स्थानको भ्रमण गर्दा नागरिकको क्रयशक्ति उल्लेखनीय रूपमा वृद्धि भएको देखियो । विशेषतः रेष्टुरेन्ट, होटल तथा पर्यटन क्षेत्रमा बढ्दो उपभोग प्रवृत्तिले आन्तरिक बजारको विस्तार र सेवा क्षेत्रको तीव्र सम्भावनालाई संकेत गरेको छ ।
एकैपटकमा उल्लेखनीय खर्च गर्न सक्ने उपभोक्ता व्यवहारले उद्यमशीलता र रोजगारी सिर्जनाका नयाँ आयाम थप गरेको नजिकबाट देख्ने अवसर मिल्यो । सीमित उपभोग संस्कृतिबाट विकसित भई हालको गतिशील खर्च क्षमतासम्मको यात्रा आफैंमा आर्थिक रूपान्तरणको बलियो अनुभव हो । यसले सेवा उद्योगमा लगानी विस्तार, नवप्रवर्तन र गुणस्तरीय प्रतिस्पर्धाको आवश्यकतालाई थप प्रष्ट बनाएको छ । तथापि बजारमा अझै पूर्ण प्रतिस्पर्धात्मक वातावरण सुदृढ भइनसकेको देखिन्छ ।
यसले दिगो व्यावसायिक विकासमा चुनौती उत्पन्न गर्न सक्छ । यस सन्दर्भमा नियामक निकायहरूको सुदृढता, पारदर्शी नीतिगत व्यवस्था तथा सबै व्यवसायलाई करको दायरामा समेट्नका लागि प्रभावकारी कार्यान्वयन अपरिहार्य देखिन्छ । समग्रमा वर्तमान परिवेशले नेपाललाई लगानी, उद्यम र रोजगारीका दृष्टिले सम्भावनायुक्त गन्तव्यका रूपमा स्थापित गर्ने स्पष्ट संकेत प्रदान गरेको छ । विदेशमा बसोबास गर्दा पनि मेरो जीवनदर्शन, सोच र व्यवहारमा नेपालीपनको स्पष्ट छाप रहेको छ । नेपालीको सरलता, विश्वसनीयता र मानवीय मूल्य इतिहासदेखि नै विश्वसामु उदाहरणीय रूपमा स्थापित भएका छन् ।

नेपाली भावना, आत्मीयता र विश्वासको गहिराइ संसारका अन्य समाजका व्यक्तिमा पाइँदैन । यही मौलिक पहिचानले विदेशमा रहँदा पनि आफ्नो अस्तित्वलाई स्वदेशसँग जोडेर राख्ने प्रेरणा प्रदान गर्दछ । वर्तमान बदलिँदो विश्व परिवेश, प्रविधिको तीव्र विकास र प्रशासनिक प्रणालीका नवीन आयामले विश्वलाई एक साझा घरको रूपमा रूपान्तरण गर्दै लगेको छ । तथापि राजनीतिक तथा प्रशासनिक राज्य संरचनाले मानव समाजलाई विभिन्न सीमारेखामा विभाजन गर्ने यथार्थता अझै कायमै छ ।
मेरो जीवनमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ भन्ने भावनाले झन् गहिरो अर्थ बोकेको प्रतित हुन्छ । यसले मातृभूमिप्रतिको समर्पण र श्रद्धालाई जीवनको सर्वोच्च मूल्यका रूपमा स्थापित गर्दछ ।
मैले जीवनको महत्त्वपूर्ण समय विदेशमा बिताएपछि यहाँको अनुभव, सीप र क्षमताको प्रयोग गर्दै यदि म विदेशी भूमिमा रोजगार सिर्जना गर्न सक्षम छु भने आफ्नै मातृभूमिमा अझ प्रभावकारी योगदान दिन सकिन्छ भन्ने आत्मबोधको विकास भएको छ ।
नेपाल केवल जन्मभूमि मात्र नभई ‘देवभूमि’को रूपमा परिचित पवित्र भूमि हो । हाम्रो सांस्कृतिक, आध्यात्मिक र ऐतिहासिक पहिचानलाई विश्वमञ्चमा स्थापित गरेको छ । नेपाल भगवान शिवले ज्ञान प्राप्त गरेको पावन भूमि, शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मस्थल, माता सीताको जन्मभूमि तथा भगवान रामचन्द्रको ससुरालीको रूपमा विख्यात छ । साथै, भृकुटी र अरनिको जस्ता ऐतिहासिक व्यक्तित्वले अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचानलाई उचाइमा पुर्याएका छन् । मन्दिरै मन्दिरले भरिएको आस्थाको धरोहर, खुला सङ्ग्रहालय (ओपन म्युजियम) जस्तो सांस्कृतिक सम्पदा र प्राकृतिक सौन्दर्यले नेपाललाई अद्वितीय बनाएको छ । नेपालको स्वच्छ वातावरण, शीतल हावा र प्राणवायु (अक्सिजन)ले मानव जीवनलाई सन्तुलित र स्वस्थ बनाउने अद्भूत क्षमता राख्दछ । मेरो आत्मा, मन र माया सधैँ यही भूमिसँग जोडिएको छ । भौतिक रूपमा टाढा भए पनि भावनात्मक रूपमा म सधैँ नेपालमै रहेको अनुभूति गर्दछु ।
नेपालबाट विदेशिएका नागरिकलाई स्वदेश फर्कन प्रेरित गर्नु आजको सन्दर्भमा केवल भावनात्मक विषय नभई राष्ट्र निर्माणसँग प्रत्यक्ष जोडिएको रणनीतिक आवश्यकता हो । यस कार्यमा राज्य, समाज, सञ्चारमाध्यम तथा निजी क्षेत्रबीचको समन्वय, सकारात्मक र विश्वासिलो भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ । सामाजिक सञ्जालका प्रयोगकर्ताले नेपालभित्र रहेका सम्भावना, अवसर र सफलताका प्रेरणादायी उदाहरण उजागर गर्दै सकारात्मक धारणा निर्माण गर्न सक्दछन् । यस्ता सन्देशले विदेशमा रहेका नेपालीमा स्वदेशप्रतिको आत्मीयता र भरोसा अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्याउँछन् ।
आमसञ्चारमाध्यमले तथ्यमा आधारित, सन्तुलित र दूरदर्शी सामग्री प्रकाशन गरी नेपालमै अवसर खोज्ने संस्कृतिलाई सुदृढ बनाउन सक्छन् । विशेषतः उद्यमशीलता, नवप्रवर्तन र स्वदेशमै सफल भएका व्यक्तिका कथाले फर्कने सोचलाई थप प्रेरित गर्छन् । नागरिक समाजले विदेशबाट फर्किएका व्यक्तिको सीप, अनुभव र ज्ञानलाई सम्मान गर्दै पुनःस्थापनाका लागि सहयोगी वातावरण निर्माण गर्नुपर्छ । यसले उनीहरूलाई सहज रूपमा समाजमा पुनः एकीकरण हुन मद्दत गर्दछ ।
निजी क्षेत्रले लगानीमैत्री वातावरण निर्माण गर्दै नयाँ उद्यम, रोजगारी तथा उत्पादनशील क्षेत्रको विस्तारमार्फत् फर्कने नागरिकका लागि आकर्षक अवसर सिर्जना गर्न सक्छ । नेपाल सरकारको भूमिका यस सन्दर्भमा केन्द्रविन्दुमा रहन्छ । सुशासन, पारदर्शिता, नीतिगत स्थिरता तथा सेवा प्रवाहमा सुधारमार्फत नागरिकमैत्री वातावरण निर्माण गर्नु अत्यावश्यक छ । साथै, फर्किएका नागरिकको सीप र पूँजीलाई प्रभावकारी रूपमा उपयोग गर्ने नीतिगत व्यवस्था, प्रोत्साहन कार्यक्रम तथा सहजीकरण संयन्त्र विकास गर्नु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । यसरी सबै सरोकारवालाको सहकार्य, सकारात्मक सोच र प्रतिबद्ध पहलबाट विदेशिएका नेपालीलाई स्वदेश फर्कने वातावरण सिर्जना गर्न सकिन्छ । यस्तो प्रयासले केवल व्यक्तिगत स्तरमा अवसर सिर्जना नगरी समग्र राष्ट्रिय विकास, आर्थिक समृद्धि र सामाजिक रूपान्तरणमा दिगो योगदान पुर्याउने विश्वास गर्न सकिन्छ ।
अन्ततः मेरो सम्पूर्ण सोच, भावना र आकांक्षा नेपालप्रति केन्द्रित छ । वर्तमान परिवर्तनले मलाई स्वदेश फर्केर केही गर्ने दृढ संकल्प दिलाएको छ । नेपाल केवल मेरो देश मात्र होइन, मेरो अस्तित्व, मेरो पहिचान र मेरो जीवनको मूल आधार हो । त्यसैले, स्वदेश फर्केर आफ्नो ज्ञान, सीप र अनुभवमार्फत् राष्ट्र निर्माणमा योगदान पुर्याउनु नै मेरो दीर्घकालीन लक्ष्य र कर्तव्य हो ।
नेपालको उदाउँदो सकारात्मक रूपान्तरण, समावेशी नीतिगत आधार र सुदृढ बन्दै गएको प्रशासनिक संरचनाले स्वदेशप्रति पुनः आकर्षणको वातावरण सिर्जना गरेको स्पष्ट अनुभूति हुन्छ । विदेशमा आर्जित ज्ञान, सीप र व्यावसायिक अनुभवलाई मातृभूमिको समृद्धिमा रूपान्तरण गर्ने अवसर अहिलेको ऐतिहासिक आवश्यकता हो । नेपालीपनको मौलिकता, सांस्कृतिक गौरव र राष्ट्रिय आत्मीयताले प्रेरित भई स्वदेश फर्कने भावना केवल व्यक्तिगत निर्णय नभई राष्ट्रिय पुनर्निर्माणको साझा दायित्वका रूपमा स्थापित हुनुपर्दछ । यस प्रकारको सकारात्मक चिन्तन र रचनात्मक संलग्नताले नेपालप्रति सम्मान, विश्वास र दीर्घकालीन विकासप्रतिको प्रतिबद्धतालाई अझ सुदृढ तुल्याउनेछ ।
[मोरङको मिक्लाजुङकी भूमादेवी मगर हाल क्यानडामा सफल रेस्टुरेन्ट व्यवसायीका रूपमा स्थापित छन् ।]