२५ जेठ २०८३, सोमबार
आमूल सुधारको तयारीमा प्रदेश सरकार

लुम्बिनीको बजेट आकार १५ प्रतिशतसम्म घट्ने, यथार्थपरक बनाउने गृहकार्यमा मन्त्रालय

बैशाख २७, २०८३
बुटवल
लुम्बिनीको बजेट आकार १५ प्रतिशतसम्म घट्ने, यथार्थपरक बनाउने गृहकार्यमा मन्त्रालय

लुम्बिनी प्रदेश सरकार आगामी आर्थिक वर्ष (२०८३/०८४) को बजेट निर्माणको तयारीमा जुटेको छ । आउँदो आर्थिक वर्षको बजेटमा आमूल सुधार गर्ने तयारीमा प्रदेश सरकार लागेको छ । 

स्थापनाकालदेखि नै महत्त्वाकाङ्क्षी र घाटा बजेट ल्याउँदै आएको प्रदेश सरकारले आउँदो वर्षका लागि १५ प्रतिशतसम्म आकार घटाउने तयारी गरेको छ । आकार घटाएर स्रोतको दायराभित्र रही बजेट ल्याउने गृहकार्यमा आर्थिक मामिला तथा योजना मन्त्रालय जुटेको छ । 

प्रदेशको आन्तरिक स्रोत वृद्धि हुन नसकेको अवस्थामा आउँदो आर्थिक वर्षका लागि यथार्थपरक, चुस्त र सानो आकारको बजेट निर्माणको तयारी भइरहेको मन्त्रालयका सचिव बन्धुप्रसाद बास्तोलाले जानकारी दिए । 

सचिव बास्तोलाले त्यसका लागि सबै मन्त्रालयमा चालु र पूँजी बजेटको सिलिङ पठाइसकिएको बताए । ‘पुराना आयोजनाका भुक्तानीसमेत गर्न नसक्ने अवस्था देखिँदा योपटक मन्त्री र सांसदहरू बजेटको आकार घटाउन सहमत देखिनुभएको छ,’ सचिव बास्तोलाले भने, ‘चालु आर्थिक वर्षको भन्दा अब आउने बजेट १२ देखि १५ प्रतिशतसम्म घटेर आउने सम्भावना छ ।’ 

चालु आर्थिक वर्षका लागि लुम्बिनीले ३८ अर्ब ९१ करोड रूपैयाँको बजेट ल्याएको थियो । आगामी वर्षका लागि ३२ अर्ब रूपैयाँ वरिपरि रहेर बजेट आउन सक्ने सचिव बास्तोलाको भनाइ छ । राजनीतिक लाभका लागि अनावश्यक योजना  र कार्यक्रम थपेर घोषणा गर्दा लुम्बिनीको बजेट हरेक वर्ष ठूलो आकारको हुँदै आएको छ ।

राजश्वको भरपर्दो स्रोत नभएको प्रदेशमा ९० प्रतिशत बजेट संघकै भरमा चल्नुपर्ने अवस्था छ । चालु आवमा टुक्रे/खुद्रे कार्यक्रम धेरै हुँदा बजेट कार्यान्वयनमा समस्या देखिएकाले आगामी वर्ष त्यसलाई रोक्न मुख्यमन्त्री चेतनारायण आचार्यले निर्देशनसमेत दिएका छन् ।

चालु आवमा ५ देखि १० लाख रूपैयाँभन्दा कमका धेरै योजना छन् । क्षेत्र विकास कोषबाट आएका धेरै टुक्रे योजना कार्यान्वयनमा समस्या हुँदै आएको छ ।

मुख्यमन्त्री आचार्यले आगामी वर्ष यथार्थमा आधारित बजेट आउनेमा विश्वस्त दिलाए । ‘चालु आर्थिक वर्षका लागि पनि यथार्थमा आधारित बजेट ल्याउने प्रयास भएको थियो,’ आचार्यले भने, ‘तर प्राविधिक कारणले केही बढ्न गयो । प्रदेशको जे वास्तविकता हो, स्रोत र सामर्थ्य जे हो त्यहीमा टेकेर बजेट आउँछ । प्रदेश गौरवका आयोजना, बहुवर्षे योजनालाई पूरा गर्ने गरी बजेटले प्राथमिकता राख्नेछ । त्यसका साथै आवश्यकता र औचित्यको आधारमा बजेट बनाइने छ ।’ 

आगामी बजेटले कृषि, उद्योग, पर्यटन, शिक्षा, स्वास्थ्य प्राथमिकता दिने मुख्यमन्त्री आचार्यले बताए । उनका अनुसार दोस्रो आवधिक योजनाले लक्षित गरेका र आयोजना बैंकले सिफारिस गरेका योजना बजेटको प्राथमिकतामा पर्नेछन् ।

प्रदेशमा स्रोतको चाप हरेक वर्ष बढ्दै गए पनि राजस्वले लक्ष्य भेटाउन सकेको छैन । हरेक वर्ष नयाँ कार्यक्रम ल्याउने तर पुरानालाई प्राथमिकता नदिने परम्परा बसेको छ । सेवा प्रवाह चुस्त बनाउने र नागरिकको विश्वास जगाउने काम अहिलेसम्म सरकारले गर्न सकेको छैन । 

वैशाख अन्तिम हप्तासम्म लुम्बिनीको बजेट खर्च ५० प्रतिशत पनि पुगेको छैन । सामान्यतया सरकारले अन्तिम दुई महिना जेठ र असारमा विकास खर्च बढाउँछ, जुन प्राय: ‘असारे विकास’ भनेर चौतर्फी आलोचना हुने गर्छ । यी महिनामा हुने काम प्रभावकारी नभएको देखिन्छ । लुम्बिनीमा हरेक वर्षको बजेट सरदर ६५ प्रतिशत जति मात्रै खर्च हुने गरेको छ ।

अर्थविद् एवं प्रदेश योजना आयोगका पूर्वसदस्य डा. सुदनकुमार वली आगामी आर्थिक वर्ष लुम्बिनीको बजेट प्रदेश सरकारका लक्ष्यलाई प्रभावकारी रूपमा हासिल गर्न र आत्मनिर्भर अर्थतन्त्रको आधारशिला खडा गर्ने योजनाका साथ आउनुपर्ने बताउँछन् । 

‘बजेटले पूर्वाधार र गैरपूर्वाधारको मिनिमम सीमा तोक्ने, दायित्व सिर्जना भएका प्रदेश गौरवका योजनालाई प्राथमिकता र प्रदेशको राजस्वको दायरा विस्तार गर्ने योजनालाई सहयोग पुर्‍याउनेतर्फ फोकस हुनुपर्छ,’ डा.वलीले भने, ‘यो चुनावी बजेट पनि भएकाले अन्तिममा उही विगतलाई नै निरन्तरता नदेलान् भन्न सकिन्न किनभने आउँदो वर्ष प्रदेश र स्थानीय तहको चुनाव भएकाले योजना हाल्न मन्त्री र सांसदको दौडधूप चल्न सक्छ ।’

संघीय सरकारले छुट्याउने वित्तीय समानीकरण अनुदान लुम्बिनीको बजेटको प्रमुख आधार हो । लुम्बिनीले आफ्नो आन्तरिक स्रोतबाट १५ प्रतिशत मात्र व्यवस्थापन गर्न सक्छ भने ८५ प्रतिशत संघीय अनुदानमा निर्भर हुनुपर्ने अवस्था छ । 

लुम्बिनीको आफ्नो आन्तरिक स्रोत झण्डै दुई अर्ब मात्र देखिन्छ । लुम्बिनीमा प्रशासनिक खर्च १२ अर्ब रूपैयाँ हाराहारी छ । संघीय सरकारले प्रदेशलाई समानीकरण अनुदान ८ अर्ब ४४ करोड, ६० करोड समपूरक, २० करोड विशेष र सशर्त ४ अर्ब बराबर पठाउने गर्छ ।

उसो त लुम्बिनी प्रदेश मात्र नभई सबै प्रदेशले आन्तरिक स्रोत दिगो र भरपर्दो बनाउन आय परिचालनका क्षेत्र पहिचान गर्न अझै सकेका छैनन् । संघीयता कार्यान्वयन शुरू भएको ८ वर्ष हुनै लाग्दासमेत प्रदेशले आन्तरिक स्रोत वृद्धिमा कुनै प्रगति नगर्दा खर्च प्रतिवर्ष अंकगणितीय हिसाबले उकालो लागेको तथ्यांकले देखाउँछ । जनतासँग प्रत्यक्ष नजोडिने प्रदेशमा यति धेरै खर्च हुँदा संघीयतामाथि प्रश्न उठिरहेको छ ।

प्रदेशको बजेटको तयारी भइरहँदा मन्त्रालयमा बजेट माग्नेहरूको भीड लाग्ने गरेको छ । योजना पुर्‍याएका सांसदको प्राथमिकतामा टोल सुधार सडकदेखि मन्दिर र पार्क निर्माणसम्म छन् । 

सांसदहरूको योजनामा रोजगार स्थापना, कृषिउपजको बजारीकरण, उत्पादनमा किसानलाई सहयोग गर्ने योजना परेको पाइँदैन । अधिकांशको प्राथमिकतामा आफ्नो क्षेत्रमा टोल स्तरका सडक, मन्दिर, सामुदायिक भवन, साना खानेपानी योजना रहेका हुन्छन् ।

१ असारमा प्रदेश सरकारले आव २०८३/०८४ मा हुने आम्दानी–खर्चको अनुमान (बजेट) प्रदेशसभामा पेश गर्नेछ । 

salt training

कमेन्ट गर्नुहोस्