२६ असार २०८३, शुक्रबार

भारत–पाकिस्तान सैन्य संघर्षको एक वर्षपछि के–के बदलियो ?

बैशाख २७, २०८३
काठमाडौं
भारत–पाकिस्तान सैन्य संघर्षको एक वर्षपछि के–के बदलियो ?

भारत र पाकिस्तानबीच चार दिनसम्म चलेको सैन्य संघर्षको एक वर्ष पूरा भएको छ ।

१० मे २०२५ मा युद्धविराम घोषणा भएपछि दुवै देशले विभिन्न अवसरमा यसलाई आफ्नै विजयका रूपमा प्रस्तुत गर्दै आएका छन् ।

यसबीच भारतले विभिन्न परिस्थितिलाई अवसरका रूपमा उपयोग गर्दै युरोपेली संघसहित विभिन्न मुलुकसँग व्यापारिक तथा रक्षा सम्बन्ध विस्तार गरेको छ ।

रुसबाट तेल खरिदमा अमेरिकी प्रतिबन्धदेखि इरान युद्धका क्रममा सन्तुलन कायम गर्नेसम्मका विषयमा बितेको एक वर्षले भारतको धैर्य र कूटनीतिक क्षमताको कठिन परीक्षा लिएको बताइएको छ । 

‘द लेन्स’को नयाँ संस्करणमा यही विषयसँग सम्बन्धित तीन महत्त्वपूर्ण पक्षमाथि छलफल गरिएको छ ।

पहिलो, सैन्य संघर्षको भविष्य । दोस्रो, पाकिस्तानको पछिल्लो एक वर्षको प्रतिक्रिया । तेस्रो, भारतीय कूटनीति ।

छलफलमा ‘कलेक्टिभ न्यूज रुम’का पत्रकारिता निर्देशक मुकेश शर्मासँगै बीबीसी संवाददाता जुगल पुरोहित, इस्लामावादस्थित बीबीसी संवाददाता फरहत जावेद तथा अमेरिकाका लागि भारतकी पूर्व राजदूत मीरा शंकर सहभागी थिए ।

पुनः संघर्ष भए भारतको तयारी कस्तो छ ?

गत वर्षको सैन्य झडपका क्रममा ड्रोनमार्फत् आक्रमण र तिनलाई आकाशमै अवरोध गरिएको दृश्य आम नागरिकले पनि देखेका थिए । भारतले ड्रोन र क्रुज क्षेप्यास्त्रमार्फत् पाकिस्तानको राडार प्रणालीलाई निशाना बनाएको थियो ।

उता पाकिस्तानले ‘ड्रोन स्वार्म’ अर्थात् ड्रोनको झुन्ड प्रयोग गरिएको दाबी गरेको थियो । रक्षा विज्ञहरूका अनुसार भविष्यमा फेरि संघर्ष भए परिस्थितिहरू फरक हुन सक्छन् ।

यस्तो अवस्थामा भारतले ड्रोनसम्बन्धी रणनीतिमा कसरी काम गरिरहेको छ भन्ने प्रश्नमा बीबीसी संवाददाता जुगल पुरोहितले भारतमा ड्रोनको प्रयोग अब केवल निगरानीमा सीमित नरहेको बताए ।

उनका अनुसार अहिले ‘कामकाजे’ वा आत्मघाती ड्रोनमाथि काम भइरहेको छ, जसले आफैं क्षेप्यास्त्रको काम गर्छ । साथै क्वाडकप्टर ड्रोनको विकासमा पनि काम भइरहेको उनले बताए ।

भारतसँग साना ड्रोन निर्माण गर्ने क्षमता भए पनि केही उपकरणका लागि अझै चीनमाथि निर्भर रहनुपरेको उनले उल्लेख गरे । ठूला निगरानी तथा सशस्त्र ड्रोनका लागि भने भारत हाल अमेरिका र इजरायलजस्ता देशमा निर्भर रहेको उनको भनाइ छ ।

भारतले प्राथमिकतामा राखेका चार रणनीति

सैन्य मामिलामा निगरानी गर्दै आएका जुगल पुरोहितका अनुसार भारतले भावी सैन्य रणनीतिका लागि मुख्यतः चार क्षेत्रमा काम गरिरहेको छ ।

पहिलो, ‘सुदर्शन चक्र’ नामक हवाई प्रतिरक्षा प्रणाली ।

संघर्षका क्रममा पाकिस्तानबाट ठूलो मात्रामा ‘ड्रोन स्वार्म’ प्रयोग भएको भन्दै उनले त्यस्ता आक्रमण रोक्न हवाई प्रतिरक्षालाई उच्च प्राथमिकता दिइएको बताए । प्रधानमन्त्री नरेन्द्र मोदीले उल्लेख गरेको ‘सुदर्शन चक्र’ परियोजनाले यस क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने उनको भनाइ छ ।

दोस्रो, स्वचालित सैन्य प्रणाली ।

भारतले सैनिकको प्रत्यक्ष उपस्थितिबिना सञ्चालन गर्न सकिने हतियार प्रणाली विकासमा काम गरिरहेको छ । तर ती प्रविधि स्वदेशमै उत्पादन गर्न सकिने वा नसकिने चुनौती अझै रहेको जुगलले बताए ।

तेस्रो, ‘एनह्यान्सर’ प्रणाली ।

यसअन्तर्गत आकाशमै इन्धन भर्ने क्षमता तथा ‘एयरबोर्न अर्ली वार्निङ सिस्टम’लाई विस्तार गर्ने योजना रहेको छ । भारतसँग यस्तो क्षमता अहिले पनि छ यद्यपि त्यसलाई थप सुदृढ बनाउन काम भइरहेको उनले बताए ।

चौथो, स्वदेशीकरण ।

रक्षा सामग्री स्वदेशमै उत्पादन गर्न सकिने क्षमता विस्तार गर्नु भारतको मुख्य लक्ष्य रहेको उनले बताए । पहिलो तीन रणनीतिलाई भारतमै उत्पादन गर्न सकिने हो वा होइन भन्ने विषय अहिलेको मुख्य चुनौतीका रूपमा रहेको उनको भनाइ छ ।

भारत कुन–कुन देशसँग सहकार्य गर्दैछ?

जुगल पुरोहितका अनुसार भारत र रुसबीचको रक्षा सम्बन्ध पुरानो हो । एस–४०० प्रणाली र सुखोई लडाकु विमानका कारण रुस अझै पनि भारतको रक्षा साझेदारको रूपमा रहेको छ ।

त्यसैगरी अमेरिकाको भूमिका निरन्तर बढिरहेको छ । भारतको ‘तेजस’ कार्यक्रमका इन्जिन प्रविधि अमेरिकामा निर्भर रहेको उनले बताए । फ्रान्स र इजरायलसँग पनि संयुक्त उत्पादनमा काम भइरहेको उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्