
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जीवनी लेख्न नभई इतिहास लेख्न राजनीतिमा आएको बताएका छन् । जनताले दिएको जिम्मेवारी पूरा गर्न नसके आफूहरू नालायक बनेर निस्कने उनको भनाइ थियो ।
सांसदहरूको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले इतिहास लेख्ने अध्यायको शुरूआत भएको बताएका हुन् । 'जीवनी लेख्न होइन इतिहास लेख्ने ठाउँमा छौं । इतिहास लेख्ने नै हो, नयाँ अध्यायको शुरूआत गर्दैछौं,' उनले भने ।
देशमा परिवर्तन गर भनेर जनताले ऐतिहासिक जनमत दिएको स्मरण गर्दै उनले भने– 'सजिलै भएको क्रान्तिबाट जनअपेक्षा पूरा गर्न नसके हामीहरू नालायक भएर निस्कन्छौं ।'
लामिछानेले मन्त्री र संसदीय समितिको सभापतिभन्दा सांसदहरूको भूमिका बढी रहेको भन्दै आफ्नो कर्तव्य पूरा गर्ने गरी काम गर्न सांसदहरूलाई निर्देशन दिए ।
'कतिपय साथीहरू मैले भूमिका पाइनँ भन्दै आउनुहुन्छ । योगदानको मूल्य माग्ने गरी पार्टीमा योगदान मैले पनि दिएको छैन,' लामिछानेले भने ।