
बुटवलमा जारी दोस्रो राष्ट्रिय महिला फूटबल प्रतियोगिता–२०८३ अन्तर्गत आइतबार भएको खेलमा अभिषेक चर्च, नवलपुर विजयी भएको छ ।
चर्चले आयोजक बीस पचहत्तर युवा परिवारलाई ४–० गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै चर्च अन्तिम चारमा पुगेको छ ।
सिद्धेश्वर खेलमैदानमा भएको खेलमा अभिषेक चर्चका लागि रेखा विष्ट र अनिता रानामगरले २/२ गोल गरे ।
खेलको पहिलो हाफको ३२ औं मिनेटमा चर्चले पहिलो गोल गरेको थियो । चर्चकी जर्सी नम्बर ९ की अनिता रानामगरले टिमका लागि पहिलो गोल गरिन् ।
खेलको दोस्रो हाफको १० औं मिनेटमा चर्चकी जर्सी नम्बर १० की रेखा विष्टले टिमका लागि दोस्रो गोल गरेकी थिइन् ।
त्यसको ७ औं मिनेटपछि अभिषेक चर्चका लागि अनिताले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरिन् । अभिषेकका लागि चौथो गोल भने रेखा विष्टले गरेकी थिइन् ।
खेलमा अभिषेक चर्चकी अनिता रानामगरले प्लेर अफ द म्याच हुँदै नगद ५ हजार प्राप्त गरिन् ।
सोमबार नेपाल पुलिस क्लब, काठमाडौं र हेटौंडा फूटबल क्लब, मकवानपुरबीच प्रतिस्पर्धा हुने सचिव दीपक गुरुङले जनाएका छन् ।
बीस पचहत्तर युवा परिवारको आयोजनामा भएको प्रतियोगिताको विजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त र दोस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार रुपैयाँ तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही १० हजार रुपैयाँ प्रदान गरिनेछ ।
प्रत्येक खेलको प्लेअर दि म्याच हुने खेलाडीले भने ५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।