
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका लागि इरानले अघि सारेको पछिल्लो प्रस्तावलाई पूर्ण रूपमा अस्वीकार्य भन्दै सिधै खारेज गरिदिएका छन् । दुई देशबीच महिनौंदेखि जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप पाकिस्तानमार्फत पठाइएको प्रस्तावलाई ट्रम्पले आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसियल'मा कडा प्रतिक्रिया दिँदै अस्वीकार गरेका हुन्।
ट्रम्पले लेखेका छन्, 'मैले भर्खरै इरानका तथाकथित 'प्रतिनिधिहरू'बाट प्रतिक्रिया पढेको छु। मलाई यो मन पर्दैन- पूर्णतया अस्वीकार्य छ । यदि इरान सम्झौतामा सहमत भएन भने फेरि आक्रमण हुने उनले यसअघि नै चेतावनी दिइसकेका छन् ।
इरानको अर्ध-सरकारी तस्निम समाचार एजेन्सीका अनुसार तेहरानको प्रस्तावमा सबै मोर्चामा तत्काल युद्धको अन्त्य, अमेरिकी नौसेनाद्वारा लगाइएको नाकाबन्दी हटाउनुपर्ने र इरानमाथि पुनः आक्रमण नगर्ने ग्यारेन्टी माग गरिएको थियो ।
यता, अमेरिकी सञ्चारमाध्यम 'एक्सियोस'ले दाबी गरेअनुसार अमेरिकाले इरानसमक्ष प्रस्तुत गरेको १४ बुँदे ज्ञापनपत्रमा इरानी आणविक संवर्धनमा पूर्ण रोक, प्रतिबन्धहरूको अन्त्य र हर्मुजको जलमार्गबाट निर्वाध पारवहनको सुनिश्चितताजस्ता सर्तहरू राखिएका थिए।
यो कूटनीतिक गतिरोधबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले झनै कडा अडान व्यक्त गरेका छन्। उनले इरानको समृद्ध युरेनियमको भण्डार र संवर्धन स्थलहरू पूर्ण रूपमा नष्ट नगरेसम्म युद्ध समाप्त हुन नसक्ने चेतावनी दिएका छन् ।
सीबीएसको '६० मिनेट' कार्यक्रममा बोल्दै नेतान्याहूले भनेका छन्, 'अझै पनि संवर्धन स्थलहरू छन् जुन भत्काउनुपर्ने छ।' इजरायली र अमेरिकी अडानप्रति प्रतिक्रिया दिँदै इरानी राष्ट्रपति मसूद पेजेश्कियानले आफ्नो देश कहिल्यै नझुक्ने बताएका छन्।
उनले भनेका छन्, 'हामी कहिल्यै शत्रुको अगाडि आफ्नो टाउको झुकाउने छैनौं र यदि वार्ता वा वार्ताको कुरा उठ्यो भने, यसको अर्थ आत्मसमर्पण वा पछि हट्नु होइन।'
युद्धको मैदानमा पनि स्थिति तनावपूर्ण बनेको छ। हर्मुजमा इरानले आफ्नो नियन्त्रण कायम राख्दै विश्वको तेल आपूर्तिमा अवरोध पुर्याएपछि तेलको मूल्य आकाशिएको छ ।
इरानी सैन्य प्रवक्ता मोहम्मद अक्रामिनियाले तेहरानसँग सहकार्य नगरी जलमार्ग प्रयोग गर्ने जहाजहरूले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् ।
बेलायती प्रधानमन्त्री सर केयर स्टारमरले हर्मुजमा जहाजहरूको सुरक्षाका लागि शाही नौसेना पठाउने घोषणा गरेका छन्। यसको जवाफमा इरानले कुनै पनि विदेशी सैन्य हस्तक्षेप भएमा निर्णायक र तत्काल प्रतिक्रिया दिने चेतावनी दिएको छ।
अर्कोतर्फ, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले भने आफूहरूले सैन्य बल प्रयोगभन्दा पनि इरानसँगको समन्वयमा सुरक्षा अभियान चलाउने सोच राखेको बताए ।
क्षेत्रीय स्तरमा पनि इरानले कतार, कुवेत र यूएईजस्ता अमेरिकी सहयोगी राष्ट्रहरूमाथि दबाब बढाएको छ। कतार नजिकै एक अमेरिकी मालवाहक जहाजमा अज्ञात प्रक्षेपणबाट आक्रमण भएको छ भने कुवेत र यूएईले आफ्नो हवाई क्षेत्रमा इरानी ड्रोनहरूलाई रोकेको दाबी गरेका छन्।