
नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम अब अनलाइनबाटै लिन सकिने भएको छ ।
अब नयाँ ई–सिम लिन व्यक्ति स्वयं टेलिकमको कार्यालय जानुपर्ने बाध्यता नरहेको कम्पनीले जनाएको छ ।
नयाँ प्रिपेड ई–सिम लिन चाहने सेवाग्राहीले esim.ntc.net.np लगइन गरी त्यहाँ रहेको Get New Prepaid eSIM मा क्लिक गरेपश्चात् दिइएको निर्देशनअनुसार रजिस्टर गरी आवश्यक विवरण उपलब्ध गराउनु पर्नेछ ।
त्यसपछि विभिन्न वालेट तथा क्यूआर कोडमार्फत् रकम भुक्तानी गरेपश्चात् ई–सिमको क्यूआर कोड उपलब्ध हुनेछ । उक्त क्यूआर कोड स्क्यान गरी आफ्नो मोबाइल सेटको सेटिङमार्फत् ई–सिम सक्रिय गर्न सकिने टेलिकमका सहप्रवक्ता प्रक्षेत थापा क्षेत्रीले जानकारी दिए ।
उनका अनुसार esim.ntc.net.np लगइन गरेर हाल नयाँ प्रिपेड ई–सिम लिन सकिने सुविधा थप गरिएको हो ।
योभन्दा पहिलेदेखि नै प्रयोगमा रहेको सिमलाई अनलाइनमार्फत् ई–सिम बनाउन सकिने सुविधासमेत उपलब्ध रहेको छ ।
नयाँ फिजिकल सिम लिनका लागि आवश्यक फारम भर्न र ग्राहक विवरण अर्थात् केवाईसी दर्ता गर्न वा अद्यावधिक गर्नका लागि आवश्यक अनलाइन केवाईसी पोर्टल समेत यसैमा उपलब्ध रहेको सहप्रवक्ता क्षेत्रीले जानकारी दिए ।