
सरकारले शिक्षालाई समता र समृद्धिको आधारका रूपमा स्थापित गर्ने भएको छ । माध्यमिक तहसम्म नि:शुल्क शिक्षा सुनिश्चित गरिने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पुस्तक, दिवा खाजा र पोशाकको सहज वितरणसहित शिक्षालाई गुणस्तरीय जीवन उपयोगी तथा रोजगारमूखी बनाउँदै लगिने बताए । साथै सबै तहको पाठ्यक्रमको समयसापेक्ष पुनरावलोकन गरिने उनले बताए ।
'सार्वजनिक शिक्षामा दीर्घकालीन लगानी वृद्धि गर्दै निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्थालाई सेवामूखी र गुणस्तर केन्द्र बनाउन स्वस्थ नियमन गरिने छ,' उनले भने ।
ई–लर्निङ, भर्चुअल कक्षा, खुला डिजिटल सामग्री, कृतिम बुद्धिमत्ता आधारित सिकाई प्रणाली विस्तार गरिने सरकारको योजना रहेको उनले बताए ।
उच्च शिक्षालाई श्रम बजारसँग आबद्ध गराउँदै विश्वविद्यालयको प्राज्ञिक तथा शासकीय पुनर्संरचना गर्ने सरकारको योजना छ ।
१० हजार सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट डिजिटल सामग्री र कृत्तिम बुद्धिमत्तामा आधारित सिकाई प्रणाली विस्तार गर्ने सरकारको योजना रहेको उनले बताए ।