ललितपुरको कुसुन्तीमा लिफ्टसहितको अपांगमैत्री आकाशे पुल निर्माण अन्तिम चरणमा पुगेको छ ।
ललितपुर महानगरपालिका वडा नम्बर १३ कुसुन्तीमा निर्माण भइरहेको यो पुल नेपालमै पहिलोपटक लिफ्टसहितको अपांगतामैत्री आकाशे पुलका रूपमा निर्माण भइरहेको हो ।
बाहिरबाट हेर्दा काम धेरै बाँकी रहेको जस्तो देखिए पनि पुल निर्माणको करिब ७० प्रतिशत काम सम्पन्न भइसकेको छ ।
यो पुलको शिलान्यास आजभन्दा दुई वर्षअघि, २०८० साल फागुनमा गरिएको थियो । शिलान्यास भएको एक वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि विभिन्न कारणले काममा ढिलाइ भएको हो ।
लामा प्रगति–मनी बुद्ध जेभी, काभ्रेपलाञ्चोकसँग ४ करोड ६८ लाख ९ हजार रुपैयाँमा सम्झौता गरिएको थियो । सम्झौताअनुसार निर्माण कम्पनीले एक वर्षभित्र काम सम्पन्न गरिसक्नुपर्ने भए पनि दुई वर्षपछि निर्माण अन्तिम चरणमा पुगेको हो ।
सार्वजनिक निर्माण महाशाखाका प्रमुख सिडिई प्रदीप पौडेलका अनुसार पुलको मुख्य भाग एसेम्बल भइरहेको छ र अब ल्याएर जडान गर्न मात्रै बाँकी छ ।
पुललाई आकर्षक डिजाइनमा निर्माण गरिँदै छ । यसले चक्रपथ क्षेत्रको सुन्दरता थप बढाउने अपेक्षा गरिएको छ ।
साथै, पैदलयात्रीलाई सडक पार गर्न सहज हुनुका साथै यस क्षेत्रमा हुने दुर्घटना न्यूनीकरणमा पनि पुलले सहयोग पुग्ने विश्वास गरिएको छ ।
हेर्नुहोस्, भिडियो :