
अपहरण, शरीर बन्धक तथा अपमानजनक व्यवहारसम्बन्धी कसुरमा सप्तरी प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको महादेवा गाउँपालिका–१ घर भई हाल राजविराज नगरपालिका–३ बस्दै आएका २७ वर्षीय मुस्लिम मियाँ रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डम्मबरबहादुर पुरीले जानकारी दिए ।
उनका अनुसार पीडितको किटानी जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको हो । जाहेरीअनुसार मुस्लिम मियाँसहितको समूहले पीडितलाई अपहरण गरी एकान्त स्थानमा लगेर शरीर बन्धक बनाएको आरोप छ ।
उनीहरूले पीडितलाई त्रास देखाई कुटपिट गर्नुका साथै जबर्जस्ती शरीरका सम्पूर्ण कपडा खोल्न लगाएर नग्न बनाएको र त्यसको भिडियोसमेत बनाएको उल्लेख गरिएको छ ।
घटनापछि पीडितले प्रहरीमा जाहेरी दिएपछि प्रतिवादीहरूको खोजतलास शुरू गरिएको थियो। सोही क्रममा प्रहरीले मुस्लिम मियाँलाई राजविराज नगरपालिका–८ स्थित क्षेत्रबाट पक्राउ गरेको हो ।
पक्राउ परेका मियाँलाई जिल्ला सरकारी वकिल कार्यालय सप्तरीमार्फत सप्तरी जिल्ला अदालतमा उपस्थित गराई म्याद थप गरिएको प्रहरीले जनाएको छ। अदालतले वैशाख २८ गतेदेखि लागू हुने गरी ७ दिनको म्याद थप अनुमति दिएको उनले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।