
परराष्ट्रमन्त्री शिशिर खनालले अबको केही महिनामा नेपाल र भारतबाट उच्चस्तरीय भ्रमण हुने बताएका छन् ।
आफ्नो भ्रमणसँगै २ वर्षदेखि रोकिएको औपचारिक उच्चस्तरीय भ्रमणको शुरूआत भएको र आगामी दिनमा भारतबाट पनि हुने उनले बताए ।
भारतको ३ दिने औपचारिक भ्रमण पूरा गरेर स्वदेश फर्किएपछि आइतबार विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री खनालले द्विपक्षीय भ्रमण हुने बताएका हुन् ।
‘दुई देशबीच झण्डै दुई वर्षदेखि औपचारिक उच्चस्तरीय भ्रमण भएको थिएन, मेरो भ्रमणको शुरूआत भएको छ,’ खनालले भने, ‘अबका केही महिनामा दुवै देशबाट यस्ता उच्चस्तरीय भ्रमण हुनेछन् । यताबाट पनि उताबाट पनि उच्चस्तरीय भेटघाट भ्रमण हुनेछन् ।’
मन्त्री खनालले सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने विषयमा आफूले कुरा राखेको बताए ।
भारतीय विदेशमन्त्री डा. एस जयशंकरको निमन्त्रणामा उनी शुक्रबार नयाँ दिल्ली गएका थिए ।