
'गडजिला' फिल्मका दुईवटा भागमा अभिनय गरेकी १८ वर्षीया अभिनेत्री केली हटलको मेरिल्याण्डमा भएको कार दुर्घटनामा मृत्यु भएको छ।
बुधबार उनी सवार कार सडकबाट बाहिर गएर एउटा कल्भर्टमा ठोक्किएको फ्रेडरिक काउन्टी प्रहरीले जनाएको छ। अत्यधिक गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ।
केली जन्मजात बहिरो थिइन् र अमेरिकी सांकेतिक भाषा प्रयोग गर्थिन्। उनले 'गडजिला भर्सेज कंग' र 'गडजिला x कंग: द न्यू एम्पायर' मा 'जिया' नामक अनाथ बालिकाको भूमिका निभाएकी थिइन्, जसले सांकेतिक भाषामार्फत 'कंग' सँग संवाद गर्थिन्।
केलीका बुबा जोशुवा हटलले सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै घटनाको पुष्टि गरे। उनले १८ वर्षको साथका लागि धन्यवाद दिँदै दुर्घटना गराउने १९ वर्षीय चालकलाई माफी दिएको समेत बताए ।
केलीको मृत्युमा उनका सह-कलाकार मिलि बबी ब्राउन र अलेक्जेन्डर स्कार्सगार्डका साथै ओस्कार विजेता कलाकार मार्ली माटलिन र ट्रोय कोत्सुरले पनि सामाजिक सञ्जालमार्फत गहिरो दुःख व्यक्त गरेका छन्।