
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईंले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध मुद्दा नचलाइएको भन्दै आक्रोश पोखेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद प्रसाईंले ओली र लेखकविरुद्ध अदालतमा मुद्दा लैजान सरकारलाई केले अल्झायो भनेर प्रश्न गरे ।
उनले गत भदौ २३ गतेको जनेजी आन्दोलनमा ओली र लेखक ‘नरसंहारका अभियुक्त’ भन्दै टिप्पणी गरे ।
‘जेनजी आन्दोलनका अभियुक्तद्वय, नरसंहारका अभियुक्तद्वय तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध अदालतमा मुद्दा बुझाउन आजसम्म सरकारलाई केले अल्झायो ? प्रमाण पुगेन कि प्राथमिकता पुगेन ?’, प्रसाईंले भने ।
उनले सहिदमाथि अन्याय गर्ने हो भने पुराना र नयाँ दलमा कुनै फरक नहुने उल्लेख गरे ।
‘यो देशमा मल्लिक आयोगको प्रतिवेदन दराजमा थन्काइयो । रायमाझी आयोग र लाल आयोगका प्रतिवेदनहरू कार्यान्वयन नगरेर हरेक आन्दोलनका सहिदमाथि अन्याय जसरी गरियो यदि उहिले बाजेको पाला र अहिले हाम्रो पालाको चाला उस्तै भयो भने उही उखान चरितार्थ हुन्छ- हात्ती आयो हात्ती आयो...!’, प्रसाईंले भने ।