
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रको आत्मविश्वास पुनःस्थापित गर्दै उद्यम–व्यवसायमा रहेका अवरोध हटाउने बताएका छन् ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिहीबार साँझ राष्ट्रियसभामा आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गर्दै निजी क्षेत्रको आत्मविश्वास पुनःस्थापित गर्ने बताएका हुन् ।
‘निजी क्षेत्रको आत्मविश्वास पुनःस्थापित गर्दै उद्यम–व्यवसायमा रहेका अवरोधहरू हटाउनेछौं । उच्च, फराकिलो र तीव्र आर्थिक वृद्धि हासिल गर्दै पर्याप्त रोजगारी सिर्जना गर्नु अर्थतन्त्र पुनःसंरचनाको मूल लक्ष्य हुनेछ’, उनले भने, ‘सन्तुलित सार्वजनिक वित्त व्यवस्थापनमार्फत पूर्वानुमेय लगानीमैत्री आर्थिक वातावरण सुदृढ गर्नेछौं । निजी क्षेत्रको आत्मविश्वास पुनःस्थापित गर्दै उद्यम–व्यवसायमा रहेका अवरोध हटाउनेछौं ।’
अर्थमन्त्री वाग्लेले आगामी बजेटले उपभोगमा आधारित अर्थतन्त्रलाई लगानी र उत्पादनमुखी अर्थतन्त्रमा रूपान्तरण गर्ने बताए ।
आर्थिक अवसरको विस्तार, उद्यमशीलताको प्रवर्द्धन, प्रतिस्पर्धात्मक वातावरणको सुनिश्चितता र वित्तीय साधनको उत्पादनशील परिचालनका आधारमा नयाँ चरणको आर्थिक सुधार अघि बढाउने अर्थमन्त्री वाग्लेले बताए ।