
आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म नेपालको कूल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ५ करोड पुगेको छ ।
महालेखापरीक्षकको कार्यालयले तयार पारेको आर्थिक वर्ष २०८१/०८२ को प्रतिवेदन अनुसार सार्वजनिक ऋणमा बाह्य ऋणको हिस्सा ५२.५७ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४७.४३ प्रतिशत रहेको छ ।
अघिल्लो आर्थिक वर्ष सार्वजनिक ऋण कूल गार्हस्थ उत्पादन (जीडीपी)को ४२.६७ प्रतिशत रहेकोमा यो वर्ष बढेर ४३.७९ प्रतिशत पुगेको देखिएको छ । महालेखाको प्रतिवेदनले मुलुकको ऋण दायित्व निरन्तर बढिरहेको संकेत गरेको छ ।
विनिमय दरमा आएको उतारचढावका कारण मात्रै आर्थिक वर्ष २०८१/८२ मा ६५ अर्ब ५४ करोड बराबरको थप दायित्व सिर्जना हुनुले बाह्य मौद्रिक प्रभावप्रति ऋण संरचना संवेदनशील रहेको देखिन्छ ।
नेपाली मुद्रा कमजोर हुँदा विदेशी मुद्रामा लिइएको ऋणको भार स्वतः बढेर २०८१/०८२ को वर्षान्तसम्म ६५ अर्ब ५४ करोड ७९ लाख अतिरिक्त भार थपिएको प्रतिवेदनमा औंल्याइएको छ ।
यसले नेपालको ऋण संरचना बाह्य मौद्रिक प्रभावप्रति संवेदनशील रहेको देखाएको छ । विदेशी मुद्रामा हुने विनिमय जोखिम व्यवस्थापन गर्न सकिने वित्तीय उपकरणको प्रभावकारी परिचालन आवश्यक रहेको औंल्याइएको छ ।
प्रतिवेदनले सार्वजनिक ऋणलाई उत्पादनशील तथा प्रतिफलमुखी क्षेत्रमा परिचालन गर्नुपर्ने आवश्यकता पनि औंल्याएको छ ।