०३ असार २०८३, बुधबार

नातिसँगै एसईई उत्तीर्ण गर्ने वडाअध्यक्ष

अधुरो सपनाको सुन्दर अवतरण
जेठ २, २०८३
विराटनगर
नातिसँगै एसईई उत्तीर्ण गर्ने वडाअध्यक्ष

भनिन्छ, ‘पढ्नलाई उमेरले छेक्दैन र दृढ इच्छाशक्ति भए असम्भव केही छैन ।’ यो उक्तिलाई आफ्नो जीवनको यथार्थ बनाइदिएकी छिन्, तेह्रथुमको म्याङलुङ नगरपालिका वडा नं. ७ की वडाअध्यक्ष तारा कार्की गुरुङले ।

भर्खरै सार्वजनिक भएको २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसई)को नतिजा ताराका लागि केवल एउटा शैक्षिक उपलब्धि मात्र रहेन, यो त तीन दशकदेखि मनको कुनामा गुम्सिएर रहेको एउटा अधुरो सपनाको भव्य अवतरण पनि हो ।

३.१६ जीपीए ल्याएर उत्तीर्ण भएकी ५० वर्ष टेक्नै लागेकी तारा अहिले जिल्लाभरि मात्र नभई सामाजिक सञ्जालमा समेत प्रेरणाको एउटा बलियो खम्बाका रूपमा देखा परेकी छिन् ।

ताराको शैक्षिक यात्राको कथा २०५२ सालदेखि शुरू हुन्छ । त्यतिबेला उनले पहिलोपटक एसएलसी परीक्षा दिएकी थिइन् । तर, भाग्य र अंग्रेजी विषयको तगारोले उनलाई रोकिदियो । अंग्रेजी विषय लागेपछि उनले पुन: परीक्षा दिने हिम्मत त गरिन्, तर परिस्थितिले उनलाई अर्कै बाटोतर्फ डोहोर्‍यायो ।

उनी खेलकुदमा निकै अब्बल थिइन् । ‘सितोरियो कराँते’की कुशल खेलाडी ताराले पूर्वाञ्चल क्षेत्रकै प्रतियोगितामा दोस्रो स्थान हासिल गरेर आफ्नो प्रतिभा देखाइसकेकी थिइन् । खेलमै भविष्य खोज्ने क्रममा उनले ताप्लेजुङमा पुगेर दुई–चार महिना अस्थायी प्रशिक्षक (कोच) का रूपमा समेत काम गरिन् । ५२ सालतिर महिनाको १५ सय रुपैयाँ तलब खानु निकै ठूलो कुरा मानिन्थ्यो । त्यही आम्दानीको लोभ र खेलप्रतिको लगावका कारण उनको पढाइ ओझेलमा पर्दै गयो ।

समयको चक्रसँगै ताराको जीवनमा नयाँ मोड आयो । उनको विवाह भयो, त्यसपछि पारिवारिक जिम्मेवारीको पहाड उनको काँधमा आइलाग्यो । चार सन्तानकी आमा बनेकी ताराले आफ्ना दुई छोरा र दुई छोरीको भविष्य निर्माणमै दुई दशकभन्दा बढी समय बिताइन् । घरमा केवल बालबच्चा मात्र थिएनन्, ९० वर्षका वृद्ध ससुरा र ८७ वर्षकी सासूको स्याहारसुसार गर्ने मुख्य जिम्मेवारी पनि उनकै थियो ।

उनका श्रीमान् पेसाले शिक्षक हुन् । ताराको मनभित्र एउटा हुटहुटी र एउटा अधुरो सपना ज्युँदै थियो । उनी सम्झिन्छिन्, ‘कहिलेकाहीँ आफ्नै मनसँग सर्त राख्थेँ— छोराछोरीले त पढिहाले, अब जब मेरा नाति–नातिनीले एसईई दिने बेला आउँछ, म पनि उनीहरूसँगै परीक्षाको मैदानमा उत्रिनेछु ।’

नभन्दै, समयले उनलाई त्यो अवसर जुराइदियो । यसपटक उनका नाति सम्पन्न गुरुङ धरानबाट एसईईको तयारी गर्दै थिए भने हजुरआमा तारा तेह्रथुमबाट । वडाअध्यक्षको पदीय जिम्मेवारी, जनताका काम, विकास निर्माणका योजना र पारिवारिक झमेलाका बीच पनि उनले अध्ययनलाई समय व्यवस्थापन गरिन् । जब नतिजा आयो, नाति सम्पनले ‘ए’ ग्रेड ल्याए भने हजुरआमा ताराले ३.१६ जीपीए (प्रथम श्रेणी)सहित सफलताको झन्डा गाडिन् । यो नतिजा सुन्दा उनको खुसीको सीमा रहेन । उनले प्रमाणित गरिन् कि यदि मनमा संकल्प छ भने उमेर र पदले सफलताका खुड्किलाहरू चढ्न रोक्न सक्दैन ।

ताराको व्यक्तित्व केवल पढाइमा मात्र सीमित छैन, उनी एक साहसी र विद्रोही स्वभावकी महिला पनि हुन् । वि.सं. २०६० सालदेखि नै उनले तेह्रथुमका कच्ची र घुम्ती सडकहरूमा मोटरसाइकल कुदाउन शुरू गरेकी थिइन् । त्यतिबेला महिलाले बाइक चलाउनु निकै अनौठो र चुनौतीपूर्ण मानिन्थ्यो, तर उनले त्यसलाई सामान्य बनाइदिएकी छिन् । जिल्लाकै साहसी महिला चालकका रूपमा चिनिने तारा अहिले पनि आफ्नो वडाको काममा बाइक हुइँक्याउँदै पुग्छिन् । तर, उनको भोक यतिमै मेटिएको छैन । उनले अबको नयाँ लक्ष्य तय गरिसकेकी छिन् — ७० वर्ष पुग्नुअगावै कारको लाइसेन्स लिने र राजनीति शास्त्रमा उच्च शिक्षा हासिल गर्ने । राजनीतिमा सक्रिय भएकाले यो विषयको अध्ययनले आफूलाई जनसेवामा अझ प्रखर र बौद्धिक बनाउने उनको विश्वास छ ।

हाम्रो समाजमा अझै पनि पढाइलाई केवल जागिर खाने वा पैसा कमाउने माध्यमका रूपमा मात्र हेर्ने दृष्टिकोण हाबी छ । तर, तारा कार्की गुरुङको बुझाइ निकै परिपक्व र दार्शनिक छ । उनी भन्छिन्, ‘पढाइ केवल जागिर खान मात्र होइन, यो त आफ्नो ज्ञानको दायरा बढाउन र चेतनाको विकासका लागि हो । सिक्ने प्रक्रिया त मान्छेको मृत्युपर्यन्त चलिरहन्छ ।’ उनको यो भोगाइ र सफलताले पढाइ छोडेर ‘अब त ढिलो भइसक्यो’ भन्दै घरभित्रै खुम्चिएका हजारौँ महिला र पुरुषहरूका लागि एउटा नयाँ बाटो देखाएको छ । पदीय जिम्मेवारी सम्हाल्दै र घरको अभिभावकको भूमिका निभाउँदै उनले जुन साहस देखाएकी छिन्, त्यसले समाजमा ‘जहाँ इच्छा, त्यहाँ उपाय’ भन्ने उक्तिलाई पुन: ताजा बनाइदिएको छ । अधुरो सपनालाई उमेरको उत्तरार्धमा पुगेर सानदार ढंगले पूरा गर्ने ताराको यो यात्रा साँच्चै गौरवशाली र अनुकरणीय छ ।

salt training

कमेन्ट गर्नुहोस्