२१ जेठ २०८३, बिहीबार
सरकारी अस्पतालको सुधार

भर्ना भएका बिरामीलाई सिभिल अस्पतालमा नि:शुल्क खाना, गरिब–विपन्नलाई राहत

जेठ २, २०८३
काठमाडौं

काठमाडौंस्थित सरकारी अस्पताल, निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल)ले भर्ना भएका बिरामीका लागि निःशुल्क खाना उपलब्ध गराउन थालेको छ । 

अस्पताल प्रशासनले बिरामीको उपचारसँगै पोषण व्यवस्थापन पनि अत्यन्त महत्त्वपूर्ण पक्ष भएको भन्दै यो नयाँ सेवा सञ्चालनमा ल्याएको हो । यससँगै अब अस्पतालमा भर्ना भएका बिरामीले बिहान र बेलुकी गरी दैनिक दुई छाक खाना निःशुल्क रूपमा प्राप्त गर्नेछन् ।

पछिल्लो समय बिरामी तथा उनका आफन्तबाट खाना व्यवस्थापनमा कठिनाइ भइरहेको गुनासो बढ्दै गएपछि अस्पतालले सो समस्यालाई मध्यनजर भर्ना भएका बिरामीलाई नि:शुल्क खाना दिने व्यवस्था लागू गरेको जनाएको छ । 

विशेषगरी बाहिरबाट काठमाडौं आएर उपचार गराइरहेका आर्थिक रूपमा कमजोर बिरामीलाई यसबाट ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ । अस्पताल प्रशासनका अनुसार यो सेवा अस्पतालको आन्तरिक कोषबाट खर्च कटौती गरी सञ्चालन गरिनेछ ।

मेडिकल डाइरेक्टर डा.दीपक पौडेलका अनुसार बिरामीलाई दिइने खानाको सूची विशेष रूपमा तयार गरिएको छ र पोषण विज्ञको प्रत्यक्ष निगरानीमा खाना वितरण गरिनेछ । उनले बिरामीको स्वास्थ्य अवस्था अनुसार आवश्यक पोषक तत्व समावेश गरी सन्तुलित तथा गुणस्तरीय खाना उपलब्ध गराइने स्पष्ट पारे । खाना वितरण प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाइने पनि उनले बताए ।

डा.पौडेलले विशेषगरी बाहिरबाट उपचारका लागि आउने बिरामी तथा उनीहरूका कुरुवाहरूले भोगिरहेको आर्थिक र व्यवस्थापकीय कठिनाइलाई ध्यानमा राखेर यो कार्यक्रम शुरू गरिएको जानकारी दिए । उनका अनुसार अस्पतालले बिरामीको उपचार मात्र नभई समग्र सेवा गुणस्तर सुधार गर्ने उद्देश्यले यस्तो सामाजिक उत्तरदायित्त्वयुक्त कदम चालेको हो ।

खानाको गुणस्तर र सेवाबारे हामीले बिरामीहरूको समेत सकारात्मक प्रतिक्रिया पाएका छौं । बिरामीहरूले खाना स्वादिलो, सफा र पोषणयुक्त भएको भन्दै सन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूका अनुसार यस्तो सेवा उपलब्ध हुँदा उपचारको क्रममा थप सहजता महसुस भएको छ ।

बिरामी तथा कुरुवाहरूले यो पहलले विशेषगरी आर्थिक रूपमा कमजोर वर्गलाई ठूलो राहत दिएको बताउँदै यस्ता कार्यक्रम देशभरका सबै सरकारी अस्पतालमा विस्तार गर्नुपर्ने धारणा राखेका छन् । उनीहरूले सिभिल हस्पिटलको यो कदमलाई उदाहरणीय भन्दै प्रशंसा गरेका छन् ।

हेर्नुहोस् भिडियो सामग्री :
 

salt training

कमेन्ट गर्नुहोस्