
राजधानी काठमाडौँको चन्द्रागिरि नगरपालिका–३ थानकोटमा घरायसी विवादका क्रममा चक्कु प्रहार हुँदा एक जनाको मृत्यु भएको छ ।
महोत्तरी घर भएका अन्दाजी ३८ वर्षीय समी अहमदले आफ्नै सालो नाता पर्ने महोत्तरीकै अन्दाजी २५ वर्षीय जाकिर मन्सुरीमाथि तरकारी काट्ने चक्कु प्रहार गरेका थिए ।
गम्भीर घाइते भएका मन्सुरीलाई उपचारका लागि सतुङ्गलस्थित मेडपोइन्ट अस्पताल लगिएको थियो । उपचारकै क्रममा गएराति साढे ९ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले जानकारी दिए ।
घटनापछि अहमदलाई प्रहरी वृत्त थानकोटले नियन्त्रणमा लिएको छ । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।