![१९ हजार घरधुरी रहेको पोखराको सुकुम्बासी बस्ती [ड्रोन तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Pokhara_sukumbasi_basti_12_l49K40IsRt.jpg)
काठमाडौंका सुकुम्बासी बस्तीमाथि धमाधम डोजर चलेपछि देशका अधिकांश ठाउँमा बस्ने सुकुम्बासी त्रसित बनेका छन् । तिनैमध्येका हुन् पोखरा महानगपालिकाभित्रका बसोबास गरिरहेका अव्यवस्थित बसोबासी तथा सुकुम्बासीहरू ।
पोखरा महानगरपालिकाले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना खाली गर्न सूचना जारी गरेको थियो । तर यही बीचमा सर्वोच्च अदालतले सुकुम्बासीलाई जबर्जस्ती नहटाउन अन्तरिम आदेश दिएको छ । तर पनि देशका विभिन्न स्थानमा आन्दोलन जारी छ ।
राष्ट्रिय भूमि आयोग कास्कीको पछिल्लो तथ्यांक अनुसार पोखरा महानगरभित्र कूल १९ हजार ६३४ घरधुरी भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका रूपमा रहेका छन् । पोखरा महानगरपालिका–९ स्थित पृथ्वीचोक बसपार्क क्षेत्रमा मात्रै करिब ४ सय ७५ घरधुरी बसोबास गर्दै आएका छन् ।

पोखराभित्रका विभिन्न स्थानमा रहेका सुकुम्बासीहरूले वैकल्पिक व्यवस्था नभएसम्म कुनै पनि हालतमा स्थान खाली नगर्ने अडान लिएका छन् ।
इतिहास अनुसार २०३२ सालमा पृथ्वीचोक बसपार्क निर्माणका लागि २०५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । त्यसपछि उक्त क्षेत्रमा सुकुम्बासीहरूको बसोबास शुरू भएको हो ।
पोखरा नगर योजना (२०३०) र पोखरा उपत्यकाको गुरुयोजना (२०३१) अनुसार अधिग्रहण गरिएको उक्त जग्गा अतिक्रमण, मुआब्जा वितरण तथा सडक विस्तारका कारण हाल खुम्चिँदै करिब ५० देखि ८१ रोपनीमा सीमित भएको महानगरको प्रतिवेदनमा उल्लेख छ ।











तस्वीरहरू : अर्जुन गाहा /नेपाल फोटो लाइब्रेरी