२४ जेठ २०८३, आइतबार

केन्द्रीय कारागारबाट फरार कैदी सपना तामाङ पक्राउ

जेठ ४, २०८३
काठमाडौं
केन्द्रीय कारागारबाट फरार कैदी सपना तामाङ पक्राउ

काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागार ब्रेक गरी फरार सपना तामाङ पक्राउ परेकी छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको न्युरोडबाट गएराति उनलाई पक्राउ गरेको हो । 

लुकीछिपी बसेको अन्वस्थामा उनलाई पक्राउ गरिएको कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिए ।

शनिबार बिहान साढे १ बजे उनी कारागारको पर्खाल नाघेर भागेकी थिइन् । जेलको चारैतर्फ काँडेतारले घेरिएको र २४ घण्टा नै प्रहरीको निगरानीमा रहेको कारागारबाट उनी भागेकी थिइन् ।

२५ वर्षीया तामाङ बालिका हत्या, अपहरण र डाँका/चोरी मुद्दामा जन्मकैद सजाय भोगिरहेकी कैदी हुन् । उनी यसअघि पनि जेलबाट भागेकी थिइन् । दोस्रोपटक पनि उनी फरार हुन सफल भएपछि कारागारभित्रको सुरक्षा संयन्त्र र प्रहरी समन्वयमाथि प्रश्न उठ्न थालेको हो ।

सपना पहिलोपटक २०८२ भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा जेल प्रशासनले कैदीलाई खुला स्थानमा निकालेका बेला भागेकी थिइन् । त्यसको दुई महिनापछि रसुवा प्रहरीले उनलाई धुन्चेबाट पक्राउ गरेको थियो ।

उनी रसुवाको कालिका गाउँपालिका–१ फैलिगाङकी ६ वर्षीया सुमिना तामाङको हत्या अभियोगमा दोषी ठहर भएकी थिइन् । प्रहरीका अनुसार २०७७ सालमा सुनको टप लुटेपछि घटना सार्वजनिक हुने डरले उनले बालिकाको हत्या गरेकी थिइन् ।

रसुवा जिल्ला अदालतले उनलाई अपहरण, शरीर बन्धक, कर्तव्य ज्यान तथा डाँकाचोरी मुद्दामा दोषी ठहर गर्दै जन्मकैद सजाय सुनाएको थियो ।

प्रहरी अनुसन्धानले सपना किशोर अवस्थादेखि नै चोरी तथा डकैतीमा संलग्न रहेको देखाएको छ । पटक–पटक पक्राउ परे पनि सुधारको मौका दिँदै छाड्ने प्रवृत्तिले अन्ततः गम्भीर अपराधसम्म पुग्न सहयोग गरेको प्रहरी अधिकारीहरू बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्