१० साउन २०८३, आइतबार
सरकार-न्यायालय टसल

कामु प्रधानन्यायाधीशप्रति रास्वपा आक्रामक, राजनीतिमा आउन चुनौती

जेठ ४, २०८३
काठमाडौं
कामु प्रधानन्यायाधीशप्रति रास्वपा आक्रामक, राजनीतिमा आउन चुनौती

प्रधानन्यायाधीश नियुक्ति प्रक्रियाका विषयमा दर्ता हुन आएका रिट निवेदन दर्ता गर्न कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले दिएको आदेशबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आपत्ति जनाएको छ ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद यज्ञमणि न्यौपाने र समीक्षा बास्कोटाले कामु प्रधानन्यायाधीश मल्लका विषयमा प्रश्न उठाए । 

रास्वपा सांसद न्यौपानेले ‘नियमापत्ति गर्दै’ न्यायाधीशको च्याम्बरबाट आदेश भएको भन्दै आपत्ति जनाएका हुन् ।

प्रतिनिधिसभा नियमावलीमा छलफल चलिरहेको समयमा अधिवक्ता समेत रहेका रास्वपा सांसद न्यौपानेले कामु प्रधानन्यायाधीश मल्लले गरेको आदेशप्रति आपत्ति जनाएका हुन् ।

न्यौपानेले अदालतको आफ्नो मर्यादा र सीमा भए पनि कामु प्रधानन्यायाधीशको आदेश संविधानविपरीत रहेको जिकिर गरे ।
 
‘सर्वोच्चका कामु प्रधानन्यायाधीशको आदेश मिडियामा आएको छ, इजलास संयुक्त हो कि, एकल हो कि, पूर्ण इजलास हो ? संविधानको कुन धाराले गाइड गरेको इजलास हो, यहाँ देखिन्न ?’ उनले भने ।

यस्तै, रास्वपा सांसद बास्कोटाले कामु प्रधानन्यायाधीश मल्लले रिट निवेदकलाई डेलिगेसन बोलाएर दरपीठ भएका रिट दर्ता गर्न निर्देशन दिएको आरोप लगाइन् । उनले राजनीति गर्ने भए न्यायाधीशको कोट खोलेर आउन चुनौती दिइन् ।

प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बास्कोटाले कामु प्रधानन्यायाधीशले राजनीति गर्न खोजेको आरोप लगाएकी हुन् ।

‘कामु प्रधानन्यायाधीश आफैंले डेलिगेसन बोलाएर दर्ता गर्ने आदेश दिनु कत्तिको न्यायोचित छ ?,’ संसद्को कानून समितिको सभापति समेत रहेकी बास्कोटाले भनिन्, ‘कामु प्रधानन्यायाधीशले कानून दिवसको अवसरमा लडाइँ अझै बाँकी छ भन्नु भएको थियो । लडाइँ कोसित बाँकी हो ? सत्तासित लडाइँ बाँकी रहेको भए र राजनीति गर्न खोजेको भए कोट खोलेर आउनु होला हामी तयार छौं ।’

यसअघि कामु प्रधानन्यायाधीश मल्लले प्रधानन्यायाधीश सिफारिसविरुद्ध दर्ता हुन आएका रिट दर्ता गर्न आदेश गरेकी थिइन् । उक्त विषयलाई सत्तारूढ दल रास्वपाका सांसदले संसद्‌बाटै आपत्ति जनाएका हुन् ।

मल्ल सर्वोच्चका न्यायाधीशमध्ये वरिष्ठताको आधारमा १ नम्बरमा रहेको भए पनि प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा केही दिन पहिले बसेको संवैधानिक परिषद्को बैठकले चौंथो वरीयतामा रहेका न्यायाधीश डा. मनोज कुमार शर्मालाई भावी प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो । 

उनका विषयमा संसदीय सुनुवाइ प्रक्रिया अघि बढेको छ । समितिले उनका विषयमा उजुरी आह्वान गरेको समयसीमा सोमबार सकिँदैछ । 

salt training

कमेन्ट गर्नुहोस्