२७ असार २०८३, शनिबार
सर्वोच्चमा नयाँ नेतृत्व

श्रम कानूनका विज्ञलाई न्यायालयको कमान्ड, को हुन् प्रधानन्यायाधीश शर्मा?

जेठ ५, २०८३
काठमाडौं
श्रम कानूनका विज्ञलाई न्यायालयको कमान्ड, को हुन् प्रधानन्यायाधीश शर्मा?

सर्वोच्च अदालतले मंगलबार नयाँ प्रधानन्यायाधीश पाएको छ । सर्वोच्चका न्यायाधीश डा. मनोज कुमार शर्मा प्रधानन्यायाधीश नियुक्त भएका छन् ।

संवैधानिक परिषद्को सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि शर्मालाई  राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको सर्वोच्च न्यायिक पदमा नियुक्त गरेका हुन् ।

मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलले प्रधानन्यायाधीश शर्मालाई पद तथा गोपनीयताको शपथ दिलाए । 

प्रधानन्यायाधीश नियुक्त भएका शर्माले शपथपछि मंगलबार बेलुका नै सर्वोच्च अदालत पुगेर कार्यभार सम्हालेका छन् । 

२०२७ साल असार ४ गते पर्सा जिल्लाको वीरगञ्जमा जन्मिएका शर्मा वकालतको यात्रा गरी न्यायाधीश हुँदै न्यायपालिकाको सर्वोच्च शिखरमा पुग्न सफल भएका हुन् । 

काठमाडौंस्थित नेपाल ल क्याम्पसबाट बीएल उत्तीर्ण गरी उनी उच्च शिक्षाका लागि भारत पुगेका थिए । शर्माले भारतको पुणे विश्वविद्यालयबाट एलएलएम उत्तीर्ण गरे । 

कानूनी क्षेत्रमा बौद्धिक पहिचान बनाएका शर्माले नेपालको त्रिभुवन विश्वविद्यालयबाट ‘श्रम कानून’मा विद्यावारिधिको उपाधि समेत हासिल गरेका छन् ।

सन् १९९५ मा अधिवक्ताको रूपमा आफ्नो व्यावसायिक यात्रा शुरू गरेका शर्माले वकालत पेसामा लामो समय व्यतीत गरेका छन् । त्यसक्रममा उनले थुप्रै प्रतिष्ठित कम्पनी र संस्थाहरूलाई कानूनी सल्लाहकारका रूपमा समेत सेवा प्रदान गरेका थिए ।

२०७० साल जेठ २७ देखि २०७२ मंसिर २६  सम्म तत्कालीन पुनरावेदन अदालत बुटवल र पाटनमा अतिरिक्त न्यायाधीशका रूपमा समेत उनले काम गरेका थिए । 

त्यसपछि फेरि वकालत पेसामै फर्किएका उनी २०७६ वैशाख ६ गते सर्वोच्च अदालतको स्थायी न्यायाधीश नियुक्त भएका थिए ।

सर्वोच्च अदालतमा रहँदा शर्माले धेरै महत्त्वपूर्ण र जटिल मुद्दामा फैसला सुनाएका छन् । आफ्नो कार्यकालमा उनले नेपालका साथै विदेशमा आयोजना गरिएका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भई नेपाली न्याय प्रणालीका बारेमा प्रस्तुति समेत दिएका छन् ।

प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको संवैधानिक परिषद्को बैठकले गत वैशाख २४ गते शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । 

सोही अनुसार संसदीय सुनुवाइ समितिले मंगलबार सुनुवाइ गर्दै प्रधानन्यायाधीशका लागि उनको नाम सर्वसम्मत अनुमोदन गरेको थियो । 

प्रधानन्यायाधीशका रूपमा उनले  ६ वर्षको पूरा कार्यकाल (२०८९ जेठ ४ गते सम्म ) नेपालको न्यायपालिकाको नेतृत्व गर्नेछन् ।

श्रम कानूनका विज्ञ मानिने शर्माको नेतृत्वमा नेपालको न्याय क्षेत्रले नयाँ गति लिने र न्याय सम्पादनमा थप प्रभावकारिता आउने अपेक्षा गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्