
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उच्चस्तरीय चीन भ्रमण सकिएको केही दिनभित्रै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन पुगेका छन् । बुधबार बिहान पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बेइजिङमा शिखर वार्ता सुरु भएको छ ।
पुटिनको सन् २०२६ को यो पहिलो विदेश भ्रमण हो । यसले पश्चिमा देशहरूबाट एक्लिँदै गएको रुसका लागि चीनको साथ कति महत्वपूर्ण छ भन्ने कुरालाई स्पष्ट पारेको बीबीसीले समाचारमा उल्लेख गरेको छ ।
मंगलबार राति बेइजिङ पुगेका राष्ट्रपति पुटिनलाई चिनियाँ विदेशमन्त्री वाङ यी र सैन्य ब्यान्डले भव्य स्वागत गरेका थिए। दुई दिनको यस भ्रमणका क्रममा पुटिनले सी चिनफिङसँग द्विपक्षीय वार्ता गर्ने र रणनीतिक सहयोगलाई थप सुदृढ बनाउने विषयमा संयुक्त वक्तव्य जारी गर्ने कार्यक्रम छ।
भ्रमणको मुख्य एजेन्डामा 'पावर अफ साइबेरिया २' पाइपलाइन निर्माणको विषय रहेको छ, जसले वार्षिक ५० अर्ब क्यूबिक मिटर रुसी ग्यास चीन पुर्याउने लक्ष्य राखेको छ। यस आयोजनाले चीनको ऊर्जा सुरक्षालाई थप बलियो बनाउने विश्वास गरिएको छ।
युक्रेन युद्ध जारी रहेकै समयमा भएको यस भेटवार्तामा युद्ध र यसमा चीनको भूमिकाका बारेमा पनि छलफल हुने अपेक्षा गरिएको छ। चीनले आफूलाई आधिकारिक रूपमा तटस्थ भन्दै वार्ताबाट समाधान खोज्नुपर्ने बताउँदै आएको छ। यद्यपि, रुसमाथि लगाइएका पश्चिमा प्रतिबन्धहरूलाई चीनले अवैध भन्दै आलोचना गर्दै आएको छ भने रुसले युद्धका लागि आवश्यक कतिपय प्राविधिक सामग्रीहरू चीनबाटै आयात गरिरहेको छ।
भ्रमणका क्रममा पुटिनले चिनियाँ प्रधानमन्त्री ली चियाङसँग भेट गर्ने र विभिन्न सहयोगका दस्तावेजहरूमा हस्ताक्षर गर्ने तालिका रहेको छ। दुई नेताबीचको मित्रतालाई दर्शाउन एक फोटो प्रदर्शनीको अवलोकन र अनौपचारिक रूपमा चिया गफ समेत हुने क्रेमलिनले जनाएको छ। चिनियाँ विदेश मन्त्रालयका अनुसार यो भ्रमणले दुई देशको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने र विश्व राजनीतिमा थप स्थिरता प्रदान गर्नेछ।
पछिल्ला महिनाहरूमा विश्वका धेरै नेताहरूले चीनसँगको व्यापार विस्तारका लागि बेइजिङको भ्रमण गरिरहेका छन्।