२५ जेठ २०८३, सोमबार

लुम्बिनीमा ‘स्किल च्याम्पियनसिप’ हुँदै, एक हजारलाई सहभागी गराउने लक्ष्य

जेठ ६, २०८३
बुटवल
लुम्बिनीमा ‘स्किल च्याम्पियनसिप’ हुँदै, एक हजारलाई सहभागी गराउने लक्ष्य

युवामा प्राविधिक शिक्षा, सीप विकास तथा रोजगारीमुखी तालिमप्रति आकर्षण अभिवृद्धि गर्ने उद्देश्यसहित लुम्बिनी प्रदेशमै पहिलो पटक ‘लुम्बिनी स्किल च्याम्पियनसिप’  गरिने भएको छ । 

‘प्राविधिक शिक्षामा जोड, रोजगारीको अवसरमा नयाँ मोड’ भन्ने मूल नारासहित रुपन्देही उद्योग संघले कार्यक्रम आयोजना गर्न लागेको हो ।

संघले बुधबार पत्रकार सम्मेलन गर्दै यही जेठ ८ गते  तिलोत्तमामा कार्यक्रम सञ्चालन गरिने जानकारी दिएको छ  । कार्यक्रम सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेशको समन्वय तथा ‘विगी तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (इन्स्योर दोस्रो चरण)’को सहयोगमा आयोजना हुन लागेको जनाइएको छ । 

संघका अध्यक्ष कृष्ण पराजुलीले हाल उद्योग तथा व्यवसाय क्षेत्रमा आवश्यक दक्ष जनशक्तिको माग र बजारमा उपलब्ध जनशक्तिको सीपबीच असन्तुलन देखिएको भन्दै त्यसलाई कम गर्न कार्यक्रम उपयोगी हुने बताए । 

‘उद्योग, तालिम प्रदायक संस्था, प्राविधिक शिक्षालय, सरकारी निकाय तथा प्रशिक्षार्थीबीच सहकार्य र समन्वयलाई सुदृढ गर्दै दक्ष जनशक्ति उत्पादन, रोजगारी अवसर प्रवर्द्धन तथा स्वदेशमै सम्मानित रोजगारी सिर्जना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो’, उनले भने ।

कार्यक्रममा इन्स्योर परियोजनाका लुम्बिनी प्रदेश प्रमुख अम्बिका प्रसाद तिमिल्सिनाले सरकारलाई नीतिगत क्षमतामा सहयोग, निजी क्षेत्रलाई दक्ष जनशक्ति उत्पादनमा सहजीकरण तथा युवालाई प्राविधिक सीपमा दक्ष बनाउन परियोजनाले काम गरिरहेको बताए । 

‘सरकार, निजी क्षेत्र र युवाबीच समन्वय गर्दै सम्मानित रोजगारी सिर्जनाका लागि परियोजनाले सहकार्य गरिरहेको छ’, उनले भने ।  कार्यक्रममा कक्षा ९ र १० का विद्यार्थीले तयार गरेका उद्यमशीलता चुनौती परियोजनाको प्रदर्शनीसमेत गरिनेछ । 

आयोजकका अनुसार कार्यक्रममा विद्यार्थी, युवा, उद्योगी व्यवसायी, शिक्षालय, विद्यालय, अभिभावक तथा रोजगारदाताको सहभागिता रहनेछ । करिब एक हजार विद्यार्थी तथा युवाको सहभागिता सुनिश्चित गर्ने लक्ष्य राखिएको छ भने कम्तीमा पाँच सय युवाले वृत्ति परामर्श सेवा, प्राविधिक शिक्षा तथा रोजगारीसम्बन्धी जानकारी प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्